इङ्ल्यान्ड समूह विजेता, चेक रिपब्लिक र क्रोएसिया नकआउट चरणमा

लन्डन : रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इङ्ल्यान्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । त्यही गोल इङ्ल्यान्डलाई तीन अंक दिलाउन निर्णायक बन्यो । यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि स्टर्लिङले नै निर्णायक गोल गरेका थिए । इङ्ल्यान्ड स्कटल्यान्डसँग भने गोलरहित बराबरीमा रोकिएको थियो ।
जितपछि तीन खेलबाट सात अंक जोड्दै इङ्ल्यान्ड समूह विजेता बन्यो । अब इङ्ल्यान्डले समूह ‘एफ’को उपविजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेेछ । इङ्ल्यान्डसँग पराजय भोगे पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । तीन खेलमा चार अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।


यही समूहको अर्को खेलमा स्कटल्यान्डलाई पराजित गर्दै क्रोएसिया समूह उपविजेता बन्यो । समूह ‘डी’ को अन्तिम खेलमा स्कटल्यान्डलाई ३–१ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको हो । क्रोएसियाले चेक रिपब्लिकलाई पछि पार्दै समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको हो । क्रोएसियाले तीन खेलबाट चार अंक जोड्यो ।
स्कटल्यान्डलाई उसैको मैदानमा पराजित गर्न क्रोएसियाका निकोला भ्लासिक, कप्तान लुका मोड्रिच र इभान पेरिसिकले एक÷एक गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगोरले एक गोल फर्काएका थिए ।
खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । ४२औं मिनटमा म्याकग्रेगोरले स्कटल्यान्डका लागि बराबरी गोल गरेका थिए ।
पहिलो हाफ बराबरमिा सकिएको खेलको ६२औं मिनेटमा मोड्रिच र ७७औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई प्रभावशाली जित दिलाए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments