विपतमा परेकालाई सहयोग गरौं : राजेश हमाल

काठमाडौं : नायक राजेश हमालले सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङलगायतका जिल्ला बढी प्रभावित भएको भन्दै विपदमा परेकालाई आफूले सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘सिंगो मुलुकले कोरोना भाइरसको चुनौती झेलिरहेको अवस्थामा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लाका धेरै मानिसहरु प्रभावित भएका छन् । उनीहरुको लाखौं धनजनको क्षति भएको छ’, मंगलबार फेसबुकमा करिब सात मिनेटको मिडियो सेयर गर्दै राजेश हमालले भनेका छन्, ‘यस्तो अवस्थामा पीडितहरुलाई सबैले सहयोग गरौं ।’ उनले देश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई हातेमालो गर्दै पीडितको घाउमा मलम लगाउन र उनीहरुको दैनिक जीवन केही हदसम्म भए पनि सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।
उनले दैवीप्रकोप प्रभावितलाई दीर्घकालिन व्यवस्थापनका लागि पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदैै त्यसका लागि पनि सबैले ध्यान दिन सुझाव दिए । ‘हामी सबैले हातेमालो गयौं भने पीडामा परेका दाजुभाइ दिदीबहिनीलाई उनीहरुको दुःख पीडाबाट उकास्न सक्छौं’, हमालले भनेका छन् ।
उनले बाढीपहिरो अत्यन्तै दुःखदायी घटना भएको बताउँदै यस्ता घटनाहरु घट्नुमा हाम्रो पनि भूमिका छ कि भनेर मनन गर्न सुझाव दिएका छन् । ‘हामी प्रकृति र वातावरणको खिलाप त काम गरिरहेका छैनौं । त्यसको मर्यादामा आँच आउने किसिमले हामीले हाम्रो जीवनशैली अपनाउने र संरचनाहरु त बनाइरहेका छैनौं ? यसमा हामीले ध्यान दिनुपर्ने आवश्यक छ’, हमाल भन्छन्, ‘जबसम्म प्रकृतिलाई हामीले सम्मान गर्दैनौं, प्रकृतिले हाम्रो सम्मान कहिल्यै पनि गर्दैन् । यसो भन्दैमा दैवीप्रकोप आउँदै नआउने भन्ने होइन् । तर, दैवीप्रकोप आउँछ र यसले यस्तो क्षति गर्छ भन्नेमा होसियार हुनुपर्ने हुन्छ । त्यो होसियारिता हामीले आफ्नै व्यवहारबाट देखाउनुपर्ने हुन्छ ।’
उनले बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट सबैले पाठ सिक्नुपर्नेमा पनि जोड दिएका छन् । ‘वातावरणको संरक्षण गरौं, प्रकृतिको सम्मान गरौं । सँगसँगै आफ्नो जीवनशैली र कामहरु प्रकृतिलाई नबिथोल्ने किसिमले सञ्चालन गरौं’ उनले सुझाव दिँदै भनेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments