रियो दी जेनेरियो : कोपा अमेरिका फुटबलको उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए । रोड्रिगो डी पउलको छोटो कर्नर किकमा मेसीले एक डिफेन्डरलाई बिट गर्दै दिएको क्रसलाई रोड्रिग्वेजले गरेको हेड बल गोलमा परिणत भएको थियो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । २७ वर्षीय रोड्रिग्वेजले अर्जेन्टिनाका लागि २०१७ देखि ११ खेल खेलिसकेका छन् ।
पछिल्लो चार खेलमा अर्जेन्टिनाको यो पहिलो जित हो । पेरुलाई २–० ले हराएपछि अर्जेन्टिनाले चिलीसँग दुई पटक १–१ गोलको बराबरी तथा कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको थियो । उरुग्वेले भने पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । ब्राजिलसँग २–० ले पराजित भएपछि उरुग्वेले पराग्वे र भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

जितपछि अर्जेन्टिना समूह ‘बी’ मा दुई खेलबाट चार अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान चार अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा छ । पराग्वे तीन अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा छन् ।
शनिबार बिहान नै भएको खेलमा चिलीले बोलिभियालाई १–० ले पराजित गर्दै कोपा अमेरिकामा पहिलो जित निकालेको थियो । चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो । बोलिभियाको यो लगातार दोस्रो हार हो । यसअघि बोलिभिया पाराग्वेसँग ३–१ ले पराजित भएको थियो ।
चिलीको जितमा पहिलो हाफमा बिन ब्रेरेटनले गरेको गोल नै निर्णायक बन्यो । खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए । उनले इडुआर्डाे भार्गासको पासमा गोल गरेका थिए ।
अब अर्जेन्टिनाले समूह चरणको तेस्रो खेलमा २२ जुनमा पराग्वेसँग तथा उरुग्वेले सोही दिन नै चिलीसँग खेल्नेछ ।

नेपालमाला
