काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले बिहीबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताइपेईबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । कोरोना महामारीका कारण यसअघि पटक पटक स्थगित हुँदै आएको खेल न्युट्रल भेन्यु कुवेतमा हुन लागेको हो । कुवेतमा नेपालले चाइनिज ताइपेईसँगै जोर्डन र अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप छनोटका खेलहरू कोरोना महामारीका कारण कुवेतमा हुन लागेको हो । नेपालमा कोरोना महामारी बढेपछि एसियाली फुटबल महासंघ (एएफसी) ले सेन्ट्रल भेन्युका रूपमा कुवेतमा खेलाउन लागेको हो ।
विश्वकप छनोटका खेलको तयारीका लागि नेपालले नेपालले फिफा वरीयतामा निकै माथि रहेको इराकसँग गत शनिबार मैत्रीपूर्ण खेल खेलेको थियो । दुई दशकपछि इराकविरुद्ध मैदान उत्रिएको नेपाल ६–२ गोलले पराजित भएको थियो । उक्त खेलमा नेपालका मनीष डाँगीले एक गोल गरेका थिए भने अर्को गोल आतमघाती रूपमा इराकबाट उपहार पाएको थियो । फिफाको पछिल्लो वरीयतामा नेपाल एक सय ७१औं स्थानमा छ भने इराक ६८औं स्थानमा छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको थियो । आइतबार कुवेत पुगेको नेपाली टोलीले त्यहाँ तयारी गर्दै आएको छ ।
चाइनिज ताइपेईविरुद्ध नेपाल बलियो अवस्थामा छ । अहिलेसम्म नेपाल र चाइनिज ताइपेइले अहिलेसम्म जम्मा दुई खेल खेलेको छ । पहिलो खेलमा बराबरी गरेको नेपालले दोस्रो खेलमा भने २–० को प्रभावशाली जित निकालेको थियो । चाइनिज ताइपेइविरुद्धको दुवै खेलमा नेपालले गोलविहीन पनि हुनु परेन । दुवै खेलमा नेपालले गोल गर्न सफल भएको थियो । चाइनिज ताइपेइविरुद्ध नेपालको प्रदर्शन राम्रो रहे पनि फिफा वरीयतामा भने नेपाल ३० स्थान पछि छ । फिफाको पछिल्लो वरीयातामा नेपाल एक सय ७१औं स्थानमा छ भने चाइनिज ताइपेई एक सय ४१औं स्थानमा छ ।
सन् २०१९ जुन ६ मा चाइनिज ताइपेईसँगको पहिलो भेटमा नेपालले १–१ गोलको बराबरी खेलेका थिए । मैत्रीपूर्ण उक्त खेलमा एक गोलले पछि परेको अवस्थामा युवा खेलाडी अभिषेक रिजालले बराबरी गोल गरेका थिए । चाइनिज ताइपेईमै भएको दोस्रो भेट विश्वकप छनोटअन्तर्गतको खेल थियो । सन् २०१९ मा चाइनिज ताइपेईमै भएको उक्त खेलमा नेपाल २–० गोलले विजयी भएको थियो । नेपालका अञ्जन विष्टले दुवै गोल गरेका थिए । त्यसैले नेपाल चाइनिज ताइपेईसँगको तेस्रो भेटलाई पनि सुखद् बनाउने अभियानमा छ । नेपाल वरीयतामा भन्दा पनि यसअघिको लयलाई पछ्याउने अभियानमा छ । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि विगतको सफलतालाई निरन्तरता दिने बताए । ‘चाइनिज ताइपेईसँगको हेड टु हेडमा हामी बलियो छौं । हामीले धेरै मैत्रीपूर्ण खेल खेल्न नपाए पनि बलियो टोली इराकसँगको खेलले खेलाडीहरुमा धेरै नै आत्मविश्वास जगाएको छ’, प्रशिक्षक अलमुताइरीले भने, ‘हाम्रा युवा खेलाडी जितका लागि खेल्ने छन् ।’

विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ । चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको नेपालले कुवेतसँगको पहिलो खेलमा ७–० र दोस्रो खेलमा १–० गोलले हार बेहोरेको थियो । नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ । कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ । नेपालले जुन ७ मा जोर्डन र जुन ११ मा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्नेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गर्दै युवा खेलाडीलाई मौका दिएका छन् । उनले गत चैतमा थ्री नेसन्स कप जित्दाको टोलीका १३ खेलाडी परिवर्तन गरेका थिए । नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् । यस्तै रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् । यसैगरी मिडफिल्डरमा विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पूजन उपरकोटी र आयुष घलानलाई छन् । स्ट्राइकरमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा छन् ।
गोलरक्षक विशाल सुनार, दीप कार्की, मिडफिल्डर कमल थापा, सुरज ठकुरी र आयुष घलानले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ । मिडफिल्डर मनीष डाँगी र रक्षक गौतम श्रेष्ठले भने शनिबार भएको इराकविरुद्धको खेलमा डेब्यु गरेका थिए । उक्त खेलमा मनीषले एक गोल पनि गरेका थिए । उनी डेब्यु खेलमै गोल गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।
विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना गणितीय रूपमा मात्र बाँकी छ । शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले १२ अंक जोड्दा चौथो स्थानमा रहेको नेपालको तीन अंक मात्र छ । विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने गणितीय सम्भावना जीवित राख्न मात्र होइन, सन् २०२३ मा हुने एसियन कपमा छनोट हुन पनि नेपाललाई बाँकी तीन खेलको नतिजा महŒवपूर्ण मानिनेछ । नेपाल चौथो स्थानमै रहेर छनोट हुन सकेमा एसिया कपका लागि सीधै छनोट हुने सम्भावना छ । विश्वकप छनोटमा पाँचौं स्थानमा रहेमा भने नेपालले एसिया कपको अर्को चरणमा पुग्नका लागि प्लेअफ राउन्डका खेल खेल्नुपर्ने हुन्छ ।

नेपालमाला
