काठमाडौं : एमालेको माधवकुमार नेपाल पक्षमा दुई धार देखिएको छ । दोस्रो तहका नेता एमालेमै बसेर अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा छन् । पुराना तथा तेस्रो, चौथो पुस्ताका नेता समूह छुटै पार्टी गठन गर्नुपर्ने पक्षमा देखिएका छन् ।
सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताले पार्टी एकतामा जोड दिएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता र उनीहरुबीच छलफल भइरहेको छ । उनीहरूले सुवास नेम्बाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीसँग सघन छलफल चलाइरहेका हुन् । अध्यक्ष ओली पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्किन ससर्त सहमत भइसकेका छन् । महासचिव ईश्वर पोखरेल र भट्टराईबीच बुधबार संवाद भएको छ । अध्यक्ष ओलीले भीम आचार्यलगायत नेतालाई सिंहदबारमै बोलाएर एकताको पक्षमा लाग्न आग्रह गरेका छन् ।
राजीनामा दिन तयार नेपाल पक्षका सांसदले दोस्रो तहका नेताहरुकै दबाबमा प्रतिनिधिसभामा अनुपस्थिति मात्रै जनाएका थिए । नेपालसहित चार नेताको निलम्बन जेठ ३१ मा फुकुवा भएसँगै बुढानीलकण्ठ वार्ताको वातावरण बनेको थियो । त्यसपछि कार्यदल बनाएर अघि बढ्ने विषयमा युवा नेताको सक्रियता प्रमुख कारण हो । जेठ ६ को राष्टियसभा उपनिर्वाचनमा पार्टीका उमेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारलाई नेपाल पक्षले साथ दिएपछि वार्ताको वातावरण धमिलिएको थियो । प्रधानमन्त्री ओलीले जेठ ७ मा प्रतिनिधिसभा विघटन गरेपछि अवस्था अझ जटिल बन्यो । तर, दोस्रो तहका नेता हरेस नखाई एकताको पक्ष लागिरहेका छन् । नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जनालाई जेठ ८ मा स्पष्टीकरण सोधिएको थियो ।
दोस्रो तहका नेताबीच जेठ ९ मा पनि ओली जेठ २ मा फर्किने र नेपाल पक्ष अदालत नजाने भनेर सहमतिनजिक पुगेको नेताहरुले बताउँदै आएका छन् । तर, नेपाल पक्ष कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा अदालतमा हस्ताक्षर गर्न पुगे । एमालेले जेठ १० गते नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । १२ जनासँग स्पष्टीकरण सोधिएको थियो । वार्तामा संलग्न भट्टराई र विष्टले भने अदालत गएर देउवाको पक्षमा हस्ताक्षर गरेका थिएनन् ।
नेपाल पक्षले अदालतमा गरेको हस्ताक्षर फिर्ता गर्ने र ओलीले जेठ २ मा फर्किने गरी सहमतिको अवस्था छ । तर, ओलीप्रति अनुराग राख्दै आएका नेताहरुले अब जेठ २ मा फर्के पनि पार्टी एकता हुन नसक्ने बताउँदै आएका छन् ।
कतिपय नेताले भने २०७५ जेठ २ मा फर्किए पनि अब एकता सम्भव नरहेको बताइरहेका छन् । खनाल, रावलसहित युवराज ज्ञवाली, अमृत बोहरा, मुुकुन्द न्यौपाने, अष्टलक्ष्मी शाक्य, बेदुराम भुसाललगायत नेता ओलीसँग मिल्न नसकिने, छुटै पार्टी बनाएर जाने पक्षमा छन् ।
नेपालले अब कसरी जाने भन्ने विषयमा सघन छलफल थालेका छन् । बुधबार आफू निकट जनवर्गिय संगठनका पदाधिकारीसँग छलफल चलाएका हुन । छलफल एकता वा छुटै पार्टी गरेर जाने भन्ने विषयमा केन्द्रित भएको थियो ।
नेपाल पक्षका युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ओली पक्षले विघटनको पक्षमा निकालेको विज्ञप्ति र पार्टीको एकता पक्षमा नै छलफल भएको बताए । २०७५ जेठ २ मा फर्किने अपिल जारी गरेर मात्रै नहुने, सबै कमिटी पुराना अवस्थामा फर्किनुपर्नेमा जोडदार आवाज उठेको उनको भनाइ छ । माधव नेपाल पक्ष बिहीबार आफू निकट केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पार्टी एकताकै लागि भनेर एमाले स्थायी कमिटी बैठक बुधबार पनि सरेको छ ।

नेपालमाला
