काठमाडौं : नेपालले शनिबार एसियाली पावर हाउस इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ । इराकको बसरास्थित अन्तर्राष्ट्रिय मैदानमा नेपालले २० वर्षपछि घरेलु टोलीसँग फुटबल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३५ सदस्यीय टोली इराक पुगिसकेको छ ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले माथिल्लो वरीयताको इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटका बाँकी खेल खेल्ने तयारीमा छ । फिफाको पछिल्लो वरीयतामा इराक ६८औं स्थानमा छ भने नेपाल एक सय ७१औं स्थानमा छ ।
नेपाल र इराक चौथो पटक भिड्न लागेका हुन् । यसअघि भएका तीनवटै भेटमा इराकले जित निकालेको छ । नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ मा भएको थियो । एसियन गेमअन्तर्गत भारतको नयाँ दिल्लीमा भएको भेटमा इराकले ३–० गोलकोजित निकालेको थियो ।यसैगरी सन् २००१ अप्रिल १४ मा इराकमै भएको दोस्रो भेटमा भने नेपाल ९–१ गोलले पराजित भएको थियो । उक्त खेलमा नेपालकानीराजन रायमाझीले एक गोल गरेका थिए ।यसैगरी सन् २००१ मै फिफा विश्वकप छनोटको खेलमा नेपाल इराकसँग ४–२ गोलले पराजित भएको थियो । उक्त भिडन्तमा नेपालका हरि खड्का र नीराजन रायमाझीले एक÷एक गोल गरेका थिए ।
दुई दशकपछि मैदान उत्रँदा दुवै टोलीमा युवा र अनुभवी खेलाडीको बाहुल्य रहेको छ ।दुई दशकको अवधिमा इराकले एसिया कपको उपाधि जितिसकेको छ भने नेपाल दक्षिण एसियाली फुटबलमै सीमित बनेको छ । इराकले सन् १९८६ मा पहिलो पटक विश्वकप फुटबल खेलेको थियो । त्यसपछि भने विश्वकपमा छनोट हुन सकेको छैन ।

फिफा विश्वकप छनोटअन्तर्गत समूह ‘सी’मा रहेको इराक अहिले शीर्ष स्थानमा छ । इराकले पाँच खेल खेलिसक्दा ११ अंकसहित शीर्ष स्थानमा छ । उसलाई पछ्याइरहेको बहराइनको नौ, इरानको ६, हङकङको पाँच र कम्बोडियाको एक अंक छ ।
इराकसँगको मैत्रीपूर्ण खेलले विश्वकप छनोटमा आफूभन्दा वरीयतामा माथि रहेका अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न मद्दत पुग्ने विश्वास गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठूलो अवसर रहेको बताए । इराकी सञ्चार माध्यमसँग कुरा गर्दै चेम्जोङले मैत्रीपूर्ण खेलले विश्वकप छनोटका खेलका लागि लाभदायक हुने बताए । ‘यो हाम्रा लागि ठूलो अवसर हो । यसले विश्वकप छनोटका खेलका लागि निकै सहयोग पुग्ने विश्वास लिएका छौं’, उनले भने ।
विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ । नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो । नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो । नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ । कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्गबाट कुवेत जानेछ । विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ । नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक÷एक खेल खेल्न बाँकी छ । कुवेतमा हुने छनोटका बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरीले टोलीमा व्यापक परिवर्तन गरी युवा खेलाडीलाई मौका दिएका छन् ।उनी औसतमा २३ वर्षका खेलाडी बोकेर इराक पुगेका छन् । उनले गत चैतमा थ्री नेसन्स कप जित्दाको टोलीका १३ खेलाडी परिवर्तन गरेका छन् । इराक पुगेका गोलरक्षक विशाल सुनार, दीप कार्की, रक्षक गौतम श्रेष्ठ, मिडफिल्डर कमल थापा, सुरज ठकुरी, आयुष घलान र मनीष डाँगीले राष्ट्रिय टोलीबाट डेब्यु गर्न बाँकी छ ।
नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् । यस्तै रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् । यसैगरी मिडफिल्डरमा विशाल राई, मनीष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पूजन उपरकोटी र आयुष घलानलाई छन् । स्ट्राइकरमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा छन् ।

नेपालमाला
