काठमाडौं : काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले जानकारी दिए ।
प्रारम्भिक रुपमा करीब ८ सय टर्की नष्ट गर्न र सो क्षेत्र निसंक्रमण गर्न बुधबार बिहानैदेखि प्राविधिक खटिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।
अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षण बर्डफ्लु पुष्टि भएको हो । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा उक्त संक्रमण पाइएको विभागले जनाएको छ ।
पन्छी नष्ट र निसंक्रमण विधि सकिएपछि बुधबार साँझसम्म विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि लोकल कुखुरा र टर्कीमा बर्डफ्लु पाइएको थियो ।

नेपालमाला
