काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ल कारवाहीमा परेका छन् । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले बुधबार आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध र ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
एनएसएलअन्तर्गत ललितपुर सिटीविरुद्धको खेलमा रेफ्रीविरुद्ध आक्रोस पोख्दै भारतीय प्रशिक्षक यान र टोलीका अन्य अफिसियलले खेल अवरुद्ध गर्दै खेलाडीलाई मैदान छाड्न निर्देशन दिएका थिए । प्रतियोगिताको प्राविधिक सहयोगी अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले छानबिन र म्याच कमिस्नरको रिपोर्टका आधारमा मुख्य प्रशिक्षक यान ललाई प्रतिबन्ध लगाइएको हो । यसैगरी विराटनगरका टेक्निकल निर्देशक सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । यसैगरी विराटनगर सिटी एफसीलाई पनि एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ । नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टका सीईओ सुदीप शर्माले बुधबार जारी गरेको विज्ञप्तिमा एन्फाले पनि अनुसन्धान गरी छुट्टै कारवाही गर्न सक्ने जनाएको छ ।
प्लेअफमा पुग्न दुवै टोलीलाई जित अनिवार्य रहेको खेलमा २–० गोलले पछि परेपछि विराटनगरले खेलाडीलाई मैदान बाहिर बोलाएको थियो । विराटनगरका खेलाडीले मैदान छाडेपछि करिब १० मिनेट खेल रोकिएको थियो । विराटनगरका १० खेलाडीले मैदान छाडे पनि स्पेनिस खेलाडी पेड्रो जाभियर मान्जीले भने मैदान छाड्न मानेनन् । उनी एक्लै मैदानमा बसेका थिए । विराटनगरविरुद्ध ४–० को प्रभावशाली जित निकाल्दै ललितपुरले प्लेअफमा स्थान बनाएको थियो । ललितपुरसँग पराजित भएपछि विराटनगर लिग चरणबाटै बाहिरिएको थियो ।
पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको उपाधि भने काठमाडौं रेजर्सले जितेको थियो । काठमाडौंले फाइनलमा धनगढी एफसीलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।


नेपालमाला
