काठमाडौं : राष्ट्रिय खेलकुद परिषदले नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको छ । परिषद्ले शुक्रबार संघलाई पत्र लेख्दै पूर्वनिर्धारित वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।
कोरोना भाइरसको महामारी र निषेधाज्ञाको समयमा साधारणसभा आह्वान गरिएको र परिषद्बाट पनि पूर्वस्वीकृति नलिएकाले अर्को निर्देशन नभएसम्म साधारणसभा नगर्न परिषद्ले निर्देशन दिएको छ ।

‘परिषदको पूर्व स्वीकृति नलिई गर्न लागिएको त्यस संघको साधरणसभा राष्ट्रिय खेलकुद विकास ऐन २०६६ को दफा २८ (ङ) बमोजिम अर्को निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरी सोको जानकारी जानकारी गराउन निर्देशानुसार अनुरोध छ’, राष्ट्रिय खेलकुद परिषद्को संघ संस्था समन्वय शाखाका प्रमुख सरोजकुमार पोखरेलले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।
नेपाल बक्सिङ संघले गत वैशाख ३० गते साधारणसभाका लागि सूचना निकालेको थियो । सूचना अनुसार साधारणसभा जेठ २० गते बोलाइएको थियो । संघले कोरोनाको कारण देखाउँदै साधारणसभा भर्चुअल रुपमा गर्ने जनाएको थियो । तर, परिषद्लाई जानकारी नै नदिई एकतर्फी रुपमा साधारणसभा गर्न लागिएको भन्दै परिषद्ले रोक्न निर्देशन दिएको हो । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य एवं प्रवक्ता श्याम अवालेले परिषद्को निर्देशन पालना गर्दै साधारणसभा स्थगित गर्ने बताए । ‘परिषद्बाट जस्तो निर्देशन हुन्छ, त्यसको अक्षरसः पालना गछौं’, प्रवक्ता अवालेले भने, ‘नियमित वार्षिक साधारणसभाका लागि स्वीकृति लिनुपर्छ भन्ने थाहा नभएका कारण सूचना आह्वान गरेको हो ।’


नेपालमाला
