काठमाडौं : क्योकुसिन करातेका संस्थापक एवं नेपाल फुलकन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद वज्राचार्यको कोरोना संक्रमणका कारण मंगलबार निधन भएको छ ।
एक साता अघि कोरोना संक्रमण भई ललितपुरको महालक्ष्मीथानस्थित गणेशमान सिंह अस्पतालमा भर्ना भएका वज्राचार्यलाई उक्त अस्पतालमा भेन्टिलेटर नपाएपछि सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा सारिएको थियो । एपीएफ अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा उनको ६५ वर्षको उमेरमा निधन भएको हो ।
धरानका वज्राचार्य बडीबिल्डिङमार्फत खेलकुदमा सक्रिय भएका थिए । उनले बडीबिल्डिङका थुप्रै प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । पछि जगत गौचनसँग मिलेर नेपालमा क्योकुसिन कराते भित्र्याउनुका साथै त्यसको विकास र विस्तारमा पनि सक्रिय भएका थिए । सोही कारण नेपालमा जगत गौचनसँगै उनी क्योकुसिन करातेका संस्थापक मानिन्छन् ।
वज्राचार्यले क्योकुसिन करातेको एसियन च्याम्पियनसिपमा कांस्य पदक जित्नुका साथै वल्र्ड च्याम्पियनसिपलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए । वज्राचार्यले राष्ट्रिय खेलकुद परिषद्मा कराते प्रशिक्षकका रुपमा लामो समय काम गरेका थिए । उनी ५८ वर्षे सेवा हदका कारण केही वर्षअघि सेवानिवृत्त भएका थिए ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । व्रजाचार्यको श्रीमती र छोरालाई पनि कोभिड पोजेटिभ भएको नेपाल फुलकन्ट्याक्ट कराते महासंघका अध्यक्ष दमन बस्नेतले जानकारी दिए ।
Previous Article

नेपालमाला
