बुटवल : लुम्बिनी प्रदेश सभाका एकजना सांसदले सभामुखलाई राजीनामा बुझाएका छन् । कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजीनामा दिएका हुन् । त्यसैगरी सूर्य चिन्हमै चुनाव जितेका कपिलवस्तु क्षेत्र नम्बर २ (ख) त धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाेडेका हुन् ।
यसअघि राजीनामा दिएको बताएका दुई सांसदले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित दलका सांसदले बहुमत सरकारको दाबी गरेको पत्रमा हस्ताक्षर गरेका हुन् । अजय शाही हृदयेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका हुन् ।
आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुनः नियुक्त नहुँदै सांसदले राजीनामा दिएका हुन्।
सांसदको राजीनामा छल्न नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन्।
जसपाका चारजना सभासद्को पद रिक्त भएसँगै प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि मुख्यमन्त्री पोखरेलले एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए। उनले पेस गरेको दाबीअनुसार तत्कालै उनलाई मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर एक सांसदको राजीनामा र दुई सांसदले साथ छाेडेपछि उनले पुन: बहुमत गुमाएका छन् । यो सँगै उनको नियुक्ति विवादमा परेको छ। विपक्षीले उनको नियुक्ति असंवैधानिक भएकोले बदर हुनुपर्ने माग गरेका हुन् ।
लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी गराएका हुन्।
पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए। उता विपक्षी दललेसमेत बहुमत सदस्य आफूहरुसँग रहेको दाबीगर्दै प्रस्ताव बुझाएका छन्।
नयाँ सरकार बनेको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै मुख्यमन्त्री पोखरेलले आइतबार राजीना दिएका थिए। राजीनामा लगत्तै आफ्नो पक्षमा बहुमत रहेको जानकारी गराएका पोखरेल पुनःमुख्यमन्त्री बनेका हुन्।
अविश्वासको प्रस्तावमाथि मतदान गरेर हटाउने विपक्षीको प्रयासलाई छल्न पोखरेलले यो राजनीतिक खेल खेलेको देखिन्छ। सांसदको राजीनामा आएपछि भने पोखरेलको मुख्यमन्त्री पद पुन धरापमा पर्ने देखिएको छ।

नेपालमाला
