ललितपुर मेयर्स कप : एपीएफलाई उपाधि

काठमाडौं : प्रथम ललितपुर मेयर्स कप महिला टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ क्लबले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हरायो । उपाधिसँगै एपीएफले तीन लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।
जितका लागि एक सय सात रनको लक्ष्य पछ्याएको एपीएफले १६.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । एपीएफको जितमा ओपनर ज्योति पाण्डेले ३६ रन बनाइन् । कप्तान सीता रानामगरले अविजित २७, इन्दु बर्माले १९ र ममता चौधरीले अविजित १५ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६ रन बनाएको थियो । सुदूरपश्चिमकी बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । डली भट्टले १४, कविता कुँवरले १३ र रेवती धामीले १० रन बनाए । एपीएफकी करुणा भण्डारी, सुष्मा श्रेष्ठ, रेखा रावल, सीता रानामगर र बीना बुढामगरले समान एक÷एक विकेट लिए ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments