गणेशमान सिंह नोभिस बक्सिङ : सिर्जना र सौगात उत्कृष्ट

धरान : सुनसरीकी सिर्जना गुरुङ र धरानका सौगात लामा ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को उत्कृष्ट खेलाडी घोषित भएका छन् । तीन दिने प्रतियोगितामा सिर्जना महिला ५७ केजी र सौगात पुरुष ५६ केजी तौल समूहका स्वर्ण विजेता हुन् । सिर्जनाले धरानकी कृतिका राई र सौगातले झापाका भिक्टर राईलाई पराजित गर्दै स्वर्ण जितेका थिए ।
प्रतियोगितामा महिला ४८ केजीमा झापाकी अविगेल निरौलाले धरानकी रामकुमारी लिम्बूलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् । महिलाकै ५१ केजीमा धरानकी ओङ बुङलाहाङमा राईले दमककी टिपाना लावतीलाई हराउँदै स्वर्ण जित्न सफल भइन् । महिलाकै ५४ केजी तौल समूहमा धरानकी एलिस्का रत्नले झापाकी सुस्मिता श्रेष्ठलाई हराउँदै पहिलो स्थान हात पारिन् ।


यसैगरी पुरुष ४९ केजी तौलसमूहमा उदयपुरका दीपेन्द्र मगरले पहिलो स्थान हात पारे । उनले दमकका दिवस राईलाई पराजित गरे । पुरुषकै ५२ केजीमा धरानका सिंहवीर लिम्बूले सुनसरीका चुपेन राई तथा पुरुष ६० केजीमा उदयपुरका रोजन मगरले धरानका सगम चौधरीलाई पराजित गर्दै स्वर्ण पदक जिते । पुरुषकै ६४ केजीमा सुनसरीका धिरज गुरुङले धरानका उज्ज्वल श्रेष्ठ तथा पुरुष ७५ केजी तौल समूहमा धरानका अमृत लिम्बूले सुनसरीका समन सुब्बालाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिका र गणेशमान सिंह स्पोर्ट्स कमिटीको विशेष सहयोगमा आयोजना भएको प्रतियोगितामा महिलातर्फ ५ र पुरुषमा ७ तौलसमूहमा प्रतिस्पर्धा भएको थियो । जसमा महिलातर्फ ११ र पुरुषमा २९ गरी ४० बक्सरले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बक्सिङ संघका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, सचिव दिनेश सिंह, कोषाध्यक्ष गौतम सुजखु, सदस्य ओमनारायण श्रेष्ठ, प्रनिर अधिकारी, आयोजक जिल्ला बक्सिङ संघ सुनसरीका अध्यक्ष विकास गुभाजु, गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ का संयोजक अभिषेक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments