काठमाडौं : त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले किर्गिस्तानको यू–२३ ओलम्पिक टोलीसँग गोलरहित बराबरी खेलेको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा समेटिको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलको सुरुवातदेखि नै लगातार पोस्ट् आक्रमणको अवसर बनाएको नेपालले एक दर्जन मौका खेर फालेको थियो ।
१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेड प्रहार पोस्ट् नजिकबाट बाहिरिएको थियो । १४औं मिनेटमा अन्जन विष्टको डिबक्स छेउको प्रहार पोस्ट्मा लागेर फर्किएको थियो । २९औं मिनेटमा सन्जोग राईको पासमा अभिषेक रिजाल चुकेका थिए । किर्गिस्तानले पनि गोल गर्ने राम्रा मौका गुमाएको थियो ।
दोस्रो हाफमा थप आक्रामक देखिएको नेपालले गोल गर्न भने सकेन । ६३औं मिनेटमा अन्जन विष्टको पोस्ट् छेउको हेड प्रहार बाहिरिएको थियो । ६७औं मिनेटमा तासिएभ कामोलिदिन दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि किर्गिस्तान १० खेलाडीमा समेटिएको थियो । उनले अभिषेक रिजाललाई फल हानेपछि दोस्रो पहेँलो कार्ड पाएका थिए । नेपालले त्यसको फाइदा भने उठाउन सकेन ।
दोस्रो हाफमा नेपालको लगातार प्रयासमा किर्गिस्तानका गोलरक्षकले विफल पारेका थिए । दोस्रो हाफमा अग्रपंक्तिका खेलाडी परिवर्तन गरेपनि नेपालले गोल गर्न सकेन ।
यस नतिजाले बंगलादेश भने फाइनलमा पुगेको छ । बराबरीले नेपालको फाइनल खेल्ने अवसर बंगलादेशसँग शनिबार हुने खेलको नतिजामा भर पर्नेछ । तीन देश सम्मिलित खेलमा बंगलादेशको तीन अंक छ । नेपाल र किर्गिस्तानको समान एक÷एक अंक छ । फाइनलमा पुग्न नेपाललाई अन्तिम खेलमा बराबरी पर्याप्त हुनेछ ।
खेलपछि नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि गोल नहुँदा केही निरास बनेको बताए । ‘लगातार पोस्ट् प्रहार भएको थियो । कम्तीमा ६ गोल हुनुपर्ने थियो । आज स्ट्राइकर चुके’, उनले भने, ‘अर्को खेलम गल्तीलाई सुधार गर्नेछौं ।’
किर्गिस्तानका प्रशिक्षक झोल्डोसोभ नुर्बेकले बलियो नेपालसँग युवा खेलाडीले उत्कृष्ट खेल खेलेको बताए । ‘नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । दोस्रो हाफमा कप्तानले रातो कार्ड पाउनु दुर्भाग्य भयो’, झोल्डोसोभले भने । उनले आफ्नो टोली फाइनल पुग्नेमा आशावादी रहेको बताए ।
Previous Article

नेपालमाला
