काठमाडौं : नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टीको प्रदेश इन्चार्ज र विभागको जिम्मेवारी तोकेको छ।
शनिबार बसेको केन्द्रीय कमिटी बैठकबाट नेपाल–खनाल समूहले पार्टी नेतालाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।
नेता भीम रावलका अनुसार बैठकले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई दिएको छ । प्रदेश २ को इन्चार्ज घनश्याम भुसाल बनेका छन् भने बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य छन् । शाक्यलाई महिला विभागकोसमेत जिम्मेवारी दिइएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् भने लुम्बिनी र कर्णाली प्रदेशको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेशको जिम्मेवारी भने भीम रावल स्वयम्ले पाएका छन् ।
बैठकले रघुजी पन्तलाई युवा इन्चार्ज, गोकर्ण विष्टलाई विद्यार्थी इन्चार्जको जिम्मेवारी दिइएको छ ।
शुक्रबार मात्र बालुवाटारमा बसेको एमाले केपी ओली समूहको बैठकले माओवादी नेतालाई प्रदेशको जिम्मेवारी दिएपछि नेपाल समूहले शनिबार यस्तो निर्णय गरेको हो ।
ओलीले शुक्रबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारीसमेत हेरफेर गरेका थिए।
अष्टलक्ष्मी शाक्यलाई हटाएर ओलीले रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेश इन्चार्ज बनाएका थिए भने सूदुरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई प्रदेश इन्चार्ज बनाएका हुन् ।
प्रदेश १ को इन्चार्ज सुवास नेम्वाङ, अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल बनेका छन्। त्यसैगरी प्रदेश २ को इन्चार्ज सत्यनारायण मण्डल बनेका छन् भने अध्यक्ष प्रभु शाह बनेका छन्। सचिवको जिम्मेवारी सुमन प्याकुरेललाई दिइएको छ।
बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा ‘बादल’, अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनी बनेका छन्। गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, इन्चार्ज जगत विश्वकर्मा र सचिव भूमी त्रिपाठी बनेका छन्।
लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेल, अध्यक्ष लीला गिरी र सचिव खेममान खड्का बनेका छन्। कर्णाली प्रदेशको इन्चार्ज कमलाल कँडेल बनेका छन् भने अध्यक्षको जिम्मेवारी गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी बनेका छन्।
सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट बन्दा अध्यक्षको कर्ण थापा र सचिव राजेन्द्रसिंह रावल बनेका छन्।

नेपालमाला
