काठमाडौं : नेपाल पुलिस क्लबले पहिलो संस्करणको काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई आठ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा एपीएफले दिएको एक सय ६ रनको लक्ष्य पुलिसले २४.१ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । पुलिसको जितमा सुनिल धमलाले ५९ रनको अर्धशतकीय पालि खेले । यस्तै अनिल साह र कुशल भुर्तेलले समान १५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । एपीएफका अविनाश बोहरा र भुवन कार्कीले एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९.४ ओभरमा अलआउट हुँदै एक सय पाँच रन बनायो । एपीएफका वसन्त रेग्मीले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप जोरा र अमर रौटेलाले समान १८ रन बनाए । यसैगरी भुवन कार्कीले १४, अविनाश बोहराले १२, शंकर राना र सुमित महर्जनले समान चार रन बनाए । एपीएफलाई सस्तैमा समेट्न पुलिसका गुल्सन झा र सागर ढकालले चार÷चार विकेट लिए । पवन सर्राफ र ललित राजवंशीले एक÷एक विकेट हात पारे ।
उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । उपविजेतामा सीमित भएको एपीएफले तीन लाखमा चित्त बुझायो । प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीले प्रतिस्पर्धा गरेका थिए ।
Previous Article

नेपालमाला
