काठमाडौं : ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पुरुष ६४ केजी तौल समूहमा नक्सालका एबल थापालाई पराजित गर्दै सनिलले अन्तिम आठमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता खेलाडी हुन् । पुरुषकै ६४ केजी तौल समूहमा आयुष्मान चटौतले अर्विन पञ्जियार, टोविन प्रधानले देवराज जोशी र पवन गुरुङले विश्वदीप मोक्तानलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए ।
नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारबाट सुरु भएको प्रतियोगिताको पुरुष ५२ केजीमा एनआईडीसीका नारायण भुजेलले सीबीसीका जीवनकुमार पुनलाई पराजित गरे । यही तौल समूहका अन्य स्पर्धामा सुमन नेपाली, शक्ति लामा र बुद्ध लामाले पनि जित निकाले । सुमनले मदनकृष्ण डंगोल, शक्तिले विमोचन लामिछाने र बुद्धले नवराज सुवेदीलाई पराजित गरे ।
यसैगरी पुरुषकै ५६ केजी तौल समूहमा अजय चौधरीले मिङ्मार शेर्पा, प्रशान्त लामाले कल्याण राई र प्रकाश मगरले लोमस अधिकारीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुष ६० केजीमा मौसम रानामगर, शेखर कुटुभुजु, आभासप्रताप शाह र विवेक गुरुङले जित निकाल्दै अघिल्लो चरणमा स्थान बनाए । मौसमले निश्चल गुरुङ, शेखरले अनिलरत्न वज्राचार्य, आभासप्रतापले सुजितध्वज कार्की र विवेकले मार्सल गुरुङलाई पराजित गरे ।
पुरुषकै ६९ केजी तौल समूहमा सन्तोष खत्रीले प्रशान्त तामाङ तथा चन्द्र तामाङले आशुतोष मुल्मीलाई पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाए । पुरुषकै ७५ केजीमा रूपक नेपालीले रोशन श्रेष्ठलाई पराजित गरे ।
प्रतियोगिताको हरेक तौल समूहका विजेताले नगद १० हजार, दोस्रो हुनेले सात हजार र तेस्रो हुने खेलाडीले जनही चार हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताका उत्कृष्ट महिला खेलाडीले स्कुटर र पुरुष खेलाडीले मोटरसाइकल पाउने छन् ।
कांग्रेस नेता सिंहद्वारा आयोजकलाई टिसर्ट हस्तान्तरण

वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकका लागि गणेशमान सिंह स्पोर्ट्स कमिटीले प्रायोजन गरेको टिसर्ट पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंहले आयोजकलाई मंगलबार हस्तान्तरण गरे ।
चाक्सीबारीमा आयोजित कार्यक्रममा गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष समेत रहेका सिंहले बक्सिङ प्रतियोगिताको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकी र प्रतियोगिता संयोजक किशोर केसीलाई टिसर्ट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, उपसंयोजक सुनील श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष शैलेस कर्माचार्य, नेपाल बिलियार्ड स्नुकर तथा पुल संघका अध्यक्ष सरोज मुल्मी, नेपाल बक्सिङ संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपालमाला
