राष्ट्रिय महिला लिग फुटबल : एपीएफलाई उपाधि

काठमाडौं : विभागीय टोली एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० गोलले पराजित गरेको एपीएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सरु लिम्बूले दुई गोल गरिन् । यस्तै अनिता केसीले एक गोल थपेकी थिइन् । खेलको ४५औं मिनेटमा सरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले अनिता केसीको पासलाई सदुपयोग गरेकी थिइन् । त्यसपछि ८६औं मिनेटमा अनिताले गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् । त्यसपछि खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को जित दिलाइन् । आर्मीकी गोलरक्षक अन्जना रानामगर अघि बढेको अवस्थामा सरुले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेकी थिइन् ।
जितसँगै एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलबाट ३६ अंक जोड्यो । अन्तिम खेलमा पराजित बेहोरेको आर्मी उपविजेता बन्यो । आर्मीले १२ खेलबाट २६ अंक जोड्यो । तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले १८ अंक बनायो । शुक्रबार नै भएको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिकालाई १०–० गोलले हरायो । पुलिसको जितमा निरु थापाले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै निर्मला विकले पनि ह्याट्रिक गर्दा सुनकला राई र अमृता जैशीले एक÷एक गोल गरे । अर्को एक गोल पुलिसले आत्मघाती रुपमा चौदण्डगढीबाट उपचार पाएको थियो ।
लिगमा चौथो स्थानमा रहेको वालिङ नगरपालिकाले १७ र पाँचौं स्थानमा रहेको विराटनगर महानगरपालिकाले १६ अंक जोडे । छैटौं स्थानमा रहेको चन्द्रपुर नगरपालिकाले नौ बनाउँदा अन्तिम स्थानमा रहेको चौदण्डीगढी नगरपालिकाले भने खाता खोल्न सकेन ।
उपाधिसँगै एपीएफले १५ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले आठ लाख पाउँदा तेस्रो स्थान हासिल गरेको पुलिसले पाँच लाख रुपैयाँ पायो । चौथो स्थान ओगटेको वालिङले तीन लाख रुपैयाँ पायो ।
विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार प्रदान गरे ।

सरु सर्वोत्कृष्ट खेलाडी


लिग च्याम्पियन एपीएफ क्लबकी मिडफिल्डर सरु लिम्बू राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी सरु सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरुले स्कुटर प्राप्त गरिन् ।
यस्तै एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड, पुलिसकी अमृता जैशी उत्कृष्ट डिफेन्डर, आर्मी क्लबकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर, पुलिस क्लबकी उषा नाथ उत्कृष्ट गोलरक्षक र एपीएफकी भगवती थापा उत्कृष्ट प्रशिक्षक चुनिए ।
उनीहरु सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा फेयर प्ले टिम चन्द्रपुर नगरपालिका घोषित भयो । चन्द्रपुरले एक लाख  ५० हजार रुपैयाँ पायो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments