– मदन बस्नेत
सधैंको भीड
खचाखच र ठेलमठेल
गाडी गुड्ने बाटाभरी
मानव सागरको छाल देखिन्छ ।
तिम्रा हुन् कि उसका ?
यताका हुन् कि उताका ?
टाउको गन्दा थोरै मात्र तलमाथि हुँदो हो
तिमीहरुले ओसारेका बथानका
आकार प्रकार उस्तै उस्तै
स्वभाव र स्वरुप त झन् ट्याक्कै !!
00000
सिकाए बुझाए अनुसार नै त गर्ने हो आखिर
त्यसैले एकथरि जिन्दावाद भन्दै हिंडेका छन्
अर्काथरिले मुर्दावादको मुठ्ठी उचालेका छन्
हिजो एकले अर्काको प्रशंसा गरेर नथाक्नेहरु
अचेल शब्दकोष पल्टाई पल्टाई
गाली गर्न थालेका छन् !!
00000
कोही नुनको सोझो गर्दै छन्
कोही पुरानो रिस फेर्ने ध्याउन्नमा छन्
दशैंको खसी छानेजस्तै ह्याकुलो छामेर
यता र उता गर्नेहरुको लर्कन त झन्, लामै छ
न कसैलाई कोरोनाको चिन्ता छ
न त विकास र समृद्धिको परवाह छ
भिड देखायो, धमास लगायो !
एउटाले अर्कोलाई नङ्गयायो !
निवस्त्र दुबै मिलेर लाज पचायो !!
00000
हिजो कुन रसायनले जोडेथ्यो ?
अहिले कुन जिनिसले छुटायो ?
कोरोनाले थलिएको अर्थतन्त्र
दिनहुँको प्रदर्शनले झन् कति जर्जर हुँदो हो ?
सोध्ने खोज्ने फुर्सद कसलाई छ र यहाँ ?
आफ्नै–आफ्नै डम्फू बजायो
आफ्नै स्वार्थ अनुकुलको नारा घन्कायो !
00000
हाम्रै नेता ठूला
हाम्रै पार्टी महान् !
तिम्रा पार्टी खराब
तिम्रै नेता बेइमान् !
हरे शिव !!

नेपालमाला
