काठमाडौं : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या उनी अध्ययनरत विद्यालयकै छात्रबाट भएको प्रहरीले दाबी गरेको छ । भागरथीको बलात्कारप िहत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।
सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन । माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।
दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो ।
घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले बुधबार सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।
भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको प्रहरी स्रोतको दाबी । बैतडी प्रहरी स्रोतका अनुसार बदला लिनकै लागि हत्यासम्मको योजना बनाएको जनाइएको छ । ‘भागरथीसँग बदला लिन यस्तो गरें’, दिनेशले साविती बयान दिने क्रममा भनेको प्रहरी दाबी छ ।
उसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो । घटनामा उनी संलग्न भएको हुनसक्ने आधारहरु देखिएको प्रहरीको दाबी थियो ।
उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले बुधबार भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ । भट्टको हत्यापछि प्रहरीले दिनेशलाई पहिले पनि सोधपुछ गरेर छाडेको थियो ।
भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए । प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए ।

नेपालमाला
