हामीसम्म कसरी आइपुग्छ कोरोना खोप ?

काठमाडौं : वैज्ञानिकहरूको अभूतपूर्व प्रयासको कारण अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्धका केही खोपहरू विश्व बजारमा आएका छन् । जसले यो रोगबाट बचाउने दाबी गरिएको छ । यस्ता खोपहरू कसरी विकासित भए त ? यहाँ खोपको विकास प्रक्रिया उल्लेख गरिएको छ ।

प्रयोगशाला

वैज्ञानिकहरूले सन् २०२० को जनवरीमा कोरोना भाइरसको जेनेटिक सिक्वेन्स सार्वजनिक भएसँगै वैज्ञानिकहरूले कोरोनाको खोप बनाउनको लागि आवश्यक खोजी सुरु गरे ।

यसअघि कहिल्यै पनि नगरिएको समन्वयको आधारमा विश्वभरका वैज्ञानिकहरू खोप निर्माणको धेरै चरण एकैपटक गर्दै खोप निर्माणको लागि आवश्यक पर्ने १० वर्षको समय १२ महिनामा झार्न सफल भए । यसअघि नै धेरैले कोरोना भाइरस परिवारका सार्स र मार्सको अध्ययन गरिसकेका थिए । त्यसैले उनीहरूले यसअघिकै अध्ययनबाट खोप निर्माणको अध्ययन अघि बढाए ।

शोधकर्ताहरूले एन्टिजिन पत्ता लगाउनका लागि विस्तृत रूपमा भाइरसको अध्ययन गरे । एन्टिजिन भाइरसको निकै सानो भाग भाग हो, जुन शरीरको प्रतिरोधी क्षमतासँग लड्छ । अधिकांश सफल खोपमा निकै सानो, हानि नगर्ने किसिमको भाइरसको केही भाग वा ब्लुप्रिन्ट राखिएको हुन्छ । जसको उद्देश्य हाम्रो शरीरभित्र भाइरसको एन्टिजिन बनाउनु हो । शोधकर्ताहरूले कम्प्युटर मोडल र कोषहरूको प्रयोग गरी यस किसिमको एन्टिजिन प्रयोगशालामा नै परीक्षण गर्छन् । यसो गर्दा कुनै साइड इफेक्ट देखिन्छ कि भन्ने अध्ययन उक्त परीक्षणमा गरिएको थियो ।

मानव परीक्षण

एकपटक प्रयोगशालामा गरिने परीक्षण पूरा भएपछि यो खोप विश्वभरका स्वयंसेवकहरूलाई दिइन्छ । यो परीक्षणमा खोप सुरक्षित वा प्रभावकारी छ वा छ्रैन भन्ने सुनिश्चित गरिन्छ । साथै, परीक्षणका क्रममा एक व्यक्तिलाई कति डोज आवश्यक पर्छ भन्ने कुराको पनि अनुसन्धान गरिन्छ ।

सामान्यतया यस किसिमको परीक्षणको लागि १० वर्ष लाग्ने गर्छ । तर कोरोना महामारी जारी रहेको अवस्थामा महामारीविरुद्ध लड्न खोप निर्माणको कार्यलाई तीव्रता दिइएको थियो ।

मानव परीक्षणमा सफल भएको खोपको नतिजा अनुमतिका लागि नियामक निकायमा पठाइन्छ । यस्तोमा नियामक निकायले यी खोपको प्रयोग सुरक्षित र प्रभावकारी छ वा छैन भन्ने अध्ययन गर्छन् । यस्तोमा खोप निर्माताले नियामकलाई आफ्नो खोपबारे निकै संवेदनशील जानकारीहरू दिन्छन् । त्यसपछि नियामक निकायले खोपको सुरक्षा, गुणस्तर र प्रभावकारिताको आधारमा खोपलाई अनुमति दिने वा नदिने भन्ने निर्णय गर्छ ।

अनुमति दिने प्रक्रिया छिटो बनाउन बेलायती नियामक निकायले ‘रोलिङ रिभ्यु’ नामक प्रणालीको प्रयोग गरेको थियो । जसअनुसार मानव परीक्षणबाट प्राप्त नतिजा उपलब्ध भएसँगै उक्त खोपलाई अनुमति दिन बाटो खुलेको थियो ।

खोपको औद्योगिक उत्पादन

सामान्यतया एकपटक खोपले अनुमति पाइसकेपछि मात्र खोपको औद्योगिक उत्पादन सुरु हुन्छ । तर कोरोना खोपको हकमा भने खोपले अनुमति पाउनुभन्दा धेरै अगाडि नै उल्लेख्य मात्रामा खोप उत्पादन सुरु भएको थियो । खोपको औद्योगिक उत्पादन सुरु हुँदा अनुसन्धान र विकासको काम जारी थियो । ठूलो संख्यामा आएको खोपको अर्डरको कारण कम्पनीहरूले समयभन्दा अगाडि नै खोप उत्पादन सुरु गरेका थिए ।

त्यसैले खोपले अनुमति पाउनेबित्तिकै कम्पनीहरू सकेसम्म छिटो खोप वितरणको लागि तयार देखिएका थिए । खोप बनाउन कोरोनाको लागि काम गर्ने प्रमुख अवयवहरू ठूलो मात्रामा राखिन्छ भने त्यसमा स्ट्याबलाइजरलगायतका अन्य अवयवहरू पनि मिसाइन्छ । त्यस्तै मानिसको प्रतिरोधी क्षमता बढाउने ‘एड्जुभेन्ट’ पनि थपिन्छ ।

खोपको भाइलमा भर्नुभन्दा पहिला खोपको ठूलो ब्याचको गुणस्तर पनि परीक्षण गरिन्छ । त्यसपछि भाइलमा खोप हाली वितरण गरिन्छ ।

वितरण

उत्पादकले खोप उत्पादन गरिसकेपछि खोपलाई सही तापक्रममा राख्न सकियोस् भनेर ‘कोल्ड चेन’को माध्यमबाट वितरण गरिन्छ । अधिकांश परम्परागत खोपहरूलाई भण्डारणको लागि दुईदेखि ८ डिग्री सेल्सियसको तापक्रम आवश्यक हुन्छ । तर कोरोनाका केही खोप भने निकै चिसो तापक्रममा भण्डारण गर्नुपर्ने किसिमका हुन्छन् । उदाहरणको लागि फाइजर–बायोएनटेकको कोरोना खोप भण्डारणको लागि माइनस ७० डिग्री सेल्सियसको तापक्रम आवश्यक हुन्छ ।

यद्यपि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप भने सामान्य फ्रिज तापक्रममा राख्न सकिन्छ । त्यसैले यो खोपमा भण्डारणको चुनौती हुँदैन र यसलाई अहिले भएकै संरचनाअनुसार वितरण गर्न सकिन्छ ।

जसले खोप खरिद गर्न सक्छ त्यसले भन्दा पनि जसलाई सबैभन्दा धेरै आवश्यक पर्छ त्यसलाई खोप पु¥याउनु महामारी नियन्त्रणको लागि सबैभन्दा महत्वपूर्ण विषय हो । अहिले धनी मुलुकहरूले धेरै खोप निर्माताबाट खोप खरिद गरिसकेका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सबैलाई खोप पु¥याउने उद्देश्यका साथमा कोभ्याक्स कार्यक्रम ल्याएको छ ।

हरेक खोप केन्द्रमा खोपको वितरण

सम्बन्धित मुलुकमा खोप आइपुगेपछि त्यसलाई वितरण गरिनुभन्दा पहिला त्यसको गुणस्तर परीक्षण गरिन्छ । यो परीक्षणमा खोप सुरक्षित रूपमा आइपुगेको छ वा छैन भन्ने कुराको जाँच गरिन्छ । परीक्षकहरूले जाँच गरिसकेपछि सानो सानो समुह बनाएर खोपहरू आवश्यक तापक्रम कायम गरेर अस्पताल, औषधि फर्मा, क्लिनिक र अन्य खोप केन्द्रमा पठाइन्छ ।

खोप कार्यक्रम

खोप केन्द्रमा रहेका तालिमप्राप्त कर्मचारीहरूले खोप केन्द्रसम्म आउँदा खोपको अवस्था ठीक छ वा छैन भनी हेर्छन् र उक्त खोप मानिसलाई दिनु उचित छ वा छैन भन्ने कुराको सुनिश्चित गर्छन् । यस्तोमा जमेको खोपलाई पगाल्नुपर्ने र कहिलेकाहीँ खोपलाई पातलो बनाउनुपर्ने अवस्था पनि आउन सक्छ । यो काम तिनै कर्मचारीहरूले गर्छन् ।

सिरिन्जमा खोप भरेपछि त्यसलाई मानिसको पाखुरामा लगाइन्छ । जहाँबाट यसको वास्तविक काम सुरु हुन्छ । हाम्रो शरीरभित्र खोपले प्रतिरोधी क्षमतालाई कोरोनाविरुद्ध लड्न तालिम दिन्छ । जसको कारण कोरोना भाइरसको प्रवेश हाम्रो शरीरमा हुँदा प्रतिरोधी क्षमताले त्यसलाई परास्त गर्न सकोस् । त्यसैले यो खोपले कोरोनाबाट मानिसलाई बचाउँछ भन्ने विश्वास छ ।

समयसँगै कोरोनाको खोप लिएका मानिसहरूमा गरिने अध्ययनले यो खोपले कति समयसम्म मानिसहरूलाई कोरोनाबाट सुरक्षा दिन सक्छ भन्ने देखाउनेछ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments