राजीनामा प्रधानमन्त्रीले होइन, पार्टी अध्यक्ष प्रचण्डले दिनुपर्छ !

मदन बस्नेत

प्रधानमन्त्री केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट अविलम्ब राजीनामा दिनु पर्ने माग राखेर प्रधानमन्त्री ओलीलाई गलहत्याउन बहुमतसहित बालुवाटार पसेका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्रीसँगको पछिल्लो ‘वान टु वान’ वार्तापछि नराम्ररी झस्किएका छन् र बाघ बनेर छिरेका उनी फर्कंदा भिजेको मुसोजस्तै लुरुक्क परेका छन् ।
पार्टीभित्रको प्रचण्ड नेतृत्वको प्रचण्ड–माधव र झलनाथ–वामदेवको असन्तुष्ट खेमाले लल्कार्दैमा प्रधानमन्त्री ओली डराएर लुत्रुक्क परेर राजीनामा दिइहाल्ने पक्षमा किमार्थ छैनन् । उनीहरुले बहुमतको बल मिचाइँ गर्ने र गणितीय हिसावमा कारवाही चलाउने हठ नै गरेछन् भने पनि प्रधानमन्त्री ओली पिठ्युँ फर्काएर लुखुरलुखुर घर फर्कनेवाला कमजोर प्रधानमन्त्री होइनन् ।
बरु उल्टै, संविधानले दिएको सबै विकल्पका बारेमा सोच्न र देश र जनताका खातिर निकै अप्रिय र कठोर कदम चाल्न परे पनि त्यसका लागि तयारी अवस्थामा छन् र, राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा डटेर सामना गर्ने हिम्मत जुटाएर बसेका छन् । वार र पारको त्यस्तो परिस्थिति आइहाले प्रधानमन्त्री ओलीलाई लडाउन खनेको खाल्डोमा उनीहरु आफै नराम्ररी फस्ने छन् ।
आफ्नै पार्टी नेतृत्वको झण्डै दुई तिहाइको बलियो र स्थिर सरकारविरुद्ध षडयन्त्र गरेको र विकास र समृद्धिको राष्ट्रिय अभियानलाई बिचैमा तुहियाउने आत्मघाती कदम चालेको अभियोगमा उल्टै प्रचण्डलाई नै अनुशासनको कारवाही चलाउने र अध्यक्ष पदबाट घोक्रेठ्याक लगाउने सुइँको पाएपछि प्रचण्डको सातोपुत्लो उडेको छ ।
द्वन्द्वकालिन युद्ध अपराधसँग जोडिएका र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा परेका उजुरीहरु कोट्याउन थालियो भने पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना मात्र तुहिने होइन आफ्नो सम्पूर्ण राजनीतिक जीवन नै सदाका लािग समाप्त हुने भयले प्रचण्डलाई यतिखेर नराम्ररी सताएको छ ।
क्यान्टोनमेन्टमा रहेका वास्तविक लडाकुभन्दा धेरै संख्या देखाएर सरकारबाट रकम बुझेको र लडाकुलाई बिदाइ गर्दा प्रदान गरिएको रकम पनि उनीहरुलाई पूरा नदिएर अरवौंको भ्रष्टाचार गरेको मुद्दा अझै पनि अख्तियारमा विचाराधीन नै छ । राज्यकोषको दुरुपयोगको त्यो थन्किएको फाइल पल्टियो भने आफूलगायत पूर्व माओवादीका थुप्रै नेताहरुको बास बालुवाटार वा पुल्चोकमा होइन, जेलको चिसो छिँडीमा हुनेछ भन्ने हेक्का कमरेड प्रचण्डलाई राम्रैसँग हुनुपर्छ ।
पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर सुविधाजनक बहुमत भएका र वर्तमान ओली सरकार ढाल्न सबै देशीविदेशी शक्तिको साथ र समर्थन पाएका प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन त परे जाओस् एउटा रौं पनि हल्लाउन नसक्नु पछाडिको कारण पनि त्यही नै हो ।
प्रधानमन्त्री ओलीलाई ‘अहिले नै राजीनामा गर, भरे नै राजीनामा गर’ भन्दै पार्टीभित्र गुटबन्दी गर्दै हिँडेका र प्रधानमन्त्रीले स्वेच्छाले राजीनामा नगरे कारवाही गरेर हटाउने धम्कीपूर्ण दम्भ प्रदर्शन गर्दै आएका प्रचण्ड त्यही तत्वबोधकै कारण एक्कासी लल्याकलुलुक्क गलेका हुन् ।
प्रधानमन्त्रीको राजीनामाको पूर्ववत् अडानबाट हठात पछि हट्दै सहमति र सहकार्यको अर्ति उपदेश दिन प्रचण्डलाई बाध्य बनाउने धातु अरु केही होइन ‘हेग’ को कठघरामा कसरी उभ्भिने भन्ने त्रास नै हो । बालुवाटारबाट चितवन पुग्नेबितिक्कै फेरिएको प्रचण्डको जिब्रो त्यसैको द्योतक हो ।

द्वन्द्वकालिन युद्ध अपराधसँग जोडिएका र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा परेका उजुरीहरु कोट्याउन थालियो भने पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने सपना मात्र तुहिने होइन आफ्नो सम्पूर्ण राजनीतिक जीवन नै सदाका लािग समाप्त हुने भयले प्रचण्डलाई यतिखेर नराम्ररी सताएको छ ।

त्यसैले पार्टीभित्रको सबै सांगठनिक संरचनामा प्रचण्ड बहुमतका बाबजुद प्रचण्डको त्यो ‘यू टर्न’ र पार्टीका वरिष्ठ नेता माधव नेपालको रहस्यमय मौनताको पछाडि चिनियाँ राजदूतको अप्रत्याशित सक्रियता र पार्टीपंक्तिका दोस्रो पुस्ताको ठाडो हस्तक्षेप मात्र जिम्मेवार छैन, प्रचण्ड– माधवको टाउकोमा झुन्डिएको भ्रष्टाचार र अनियमितता तथा द्वन्द्वकालीन अपराधको तरबार बढी जिम्मेवार देखिन्छ ।
प्रचण्डको ढाडमा टेकेर प्रधानमन्त्रीको टाउकामा हान्न खोजिरहेका माधव नेपाल बालुवाटार जग्गा प्रकरण उल्टिने डरले थरथर काप्न थालेका छन् । भुइँको टिप्न खोज्दा बगलिको पोखिने देखेपछि उनी पनि दुई कदम पछि हट्न बाध्य भएका हुन् । कतै प्रचण्ड र प्रधानमन्त्री मिलेर आफूलाई पाखा पो लगाउँदै छन् कि भन्ने मनोविज्ञानबाट उनी ग्रस्त छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टीभित्रका विचरा नेता मात्र हुन् । न उनका पछि दुई चार नेता छन्, न त सांसद नै । जहाँसम्म वामदेव गौतमको सवाल छ, उनी जता मल्खु, उतै ढल्कु गर्दै आएका पिँध नभएको लोटा हुन् । बेला छँदै प्रधानमन्त्रीसँग मिले थोरै तिनो केही भेट्टाउलान् नै । बढी खाने लोभमा प्रचण्ड–नेपालको पछि लागिरहँदा विगतमा झैँ यस पटक पनि हात प¥यो शून्य हुन बेर छैन ।
पूर्व एमाले नेताहरूबीचको अन्तरविरोधमा खेलेर साखुल्य पल्टिन खोजेका प्रचण्डको भित्री गुरुयोजना के हो ? त्यो कसैबाट छिपेको छैन । पूर्वएमाले नेताहरुबीच फाटो ल्याउने, पार्टी र सत्ता दुवैको बागडोर एकलौटी हत्याउने उनको भित्रि मनसायमा माधव, झलनाथ र वामदेव कसैको पनि भविष्य सुरक्षित देखिँदैन । त्यसैले पार्टीभित्र चुलिएको विवाद र अन्तर पार्टी सत्ता संघर्षमा अबका केही दिनभित्रै स्थितिले कोल्टे फेर्ने निश्चित छ ।
मुलुक विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट उभ्रिन पाएको छैन । अहिले फेरि अविरल वर्षा, बाढी र पहिरोको प्राकृतिक चपेटामा नराम्ररी फसेको छ । राष्ट्रिय विपद्को यो बेलामा आपतमा परेका जनताको सेवामा सम्पूर्ण शक्ति लगाएर जुट्नु पर्ने बेलामा पार्टीभित्र गुटबन्दी गर्दै प्रधानमन्त्रीको कुर्सी ताक्ने प्रवृत्ति गलत हो भन्ने मत पार्टीभित्रै बढेर गएको छ ।
राष्ट्र र राष्ट्रियताको सवालमा ऐतिहासिक कार्य गरेको र विपत् ब्यवस्थापनमा सम्पूर्ण शक्ति लगाएर जनसेवामा लागिरहेका बेला देशीविदेशी शक्तिको उक्साहटमा आफ्नै बहुमतको सरकार गिराउने र मुलुकलाई अस्थिरतातिर धकेलेर धमिलो पानीमा माछा मार्न खोजेको अभियोगमा प्रचण्डलगायतका असन्तुष्ट नेताहरुलाई स्पष्टिकरण माग्नु पर्छ भन्ने आवाज पनि कार्यकर्तापंक्तिबाटै चर्को रुपमा उठ्न थालेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरुले समेत प्रधानमन्त्रीको राजीनामा माग्न नसकिरहेको बेलामा आफ्नै दलभित्रकै नेताहरुले नितान्त ब्यक्तिगत स्वार्थ र प्रतिशोधको राजनीतिबाट प्रेरित भएर जनअभिमतविपरीत सरकार गिराउने षडयन्त्रमा लाग्नु पार्टी विरोधी गतिविधि हो ।
त्यस्तो पार्टी विरोधी गतिविधिमा लागेका नेता कार्यकर्तालाई कारवाही गर्नु पर्ने पार्टीका कार्यकारी अध्यक्ष नै त्यसरी आफैं पार्टीभित्र गुटबन्दी गर्दै हिड्न थालेपछि पार्टी अध्यक्ष प्रचण्डको भूमिका र कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
एउटा विधि र प्रक्रियाबाट अध्यक्ष र प्रधानमन्त्री बनेको व्यक्तिले कसैले हट भन्दैमा हट्ने र बस् भनेर बस्ने होइन । पार्टी एकीकरण नटुँङ्एिको अवस्थामा प्रचण्ड वा ओली कोही पनि एक्लो अध्यक्ष हुन सम्भव छैन । जहाँसम्म प्रधानमन्त्रीको सवाल छ, त्यो प्रचण्डकै माग र चाहना बमोजिम ओली पूर्ण कार्यकालको प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष भनेर टुँगिसकेको विषय हो ।
कसैलाई प्रधानमन्त्री, राष्ट्रपति वा पार्टी अध्यक्ष बन्ने सनक चलेकै भरमा बेला कुबेला पार्टीले त्यसै अनुरुपको निर्णय गर्नु पर्दछ भनेर जिद्दी गर्नु भनेको अराजकता हो । अराजकताले पार्टी निर्माण हुन्न, विघटन हुन्छ ।
यतिखेर नेकपामा अराजकता हावी भएको छ र पार्टी विखण्डनको स्थिति पैदा भएको छ । त्यसैले पार्टीमा विद्यमान संकट समाधान गर्न पार्टीभित्र व्यापक सुधारको आवश्यकता छ । कार्यकारी हैसियतका अध्यक्ष प्रचण्डले समन्वयात्मक भूमिका निभाउन छाडेर पार्टीभित्र गुटबन्दी गर्न बन्द गर्नु पर्दछ भने प्रधानमन्त्रीको बोली र बचनमा लगाम लगाउन र सरकारको नीति र कार्यपद्दतिमा पनि सुधार र फेरबदल गर्न अत्यन्त जरुरी भइसकेको छ ।
बल अहिले प्रचण्डको खुट्टामा छ । अब उनले फाउल खेल्छन् कि ‘फेयर प्ले’ ? सिंगो टिमको जित हुने गरी गोल गर्लान् कि आफै हार्ने आत्मघाती गोल ? जवाफ खोज्न अलि दिन प्रतीक्षा गर्नै पर्ने भएको छ ।

सूर्यविनायक, भक्तपुर ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments