संघीय संसद : नीति निर्माण गर्ने ठाउँ कि हाँस्य विनोदको थलो ?

मदन बस्नेत

संसद जनताको प्रतिनिधिमूलक संस्था हो । त्यो, आफूखुसी जे मनलाग्यो त्यही अन्टसन्ट बक्ने हाम्रा टोल छिमेकको चिया पसल वा गफ लडाउने अड्डा होइन । त्यसमाथि देश, जनता र संसद्प्रति जवाफदेही हुनुपर्ने कार्यकारी प्रमुखले जनताको प्रतिनिधिमूलक संस्था संसदमा आफ्नो धारणा राख्दा त्यसको मान, मर्यादा र गरिमाको ख्याल राख्नै पर्छ र अरुभन्दा बढी जिम्मेवार र जवाफदेही रुपमा प्रस्तुत हुनुपर्दछ ।
तर प्रधानमन्त्री ओलीले संघीय संसदको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा राखेका धारणाले जनताको सर्वोच्च थलो संसद, मुकुकको नीति निर्माण गर्ने ठाउँ हो कि हाँस्य विनोदको गर्ने थलो ? भन्ने प्रश्न खडा गरिदिएको छ ।
‘कोरोना भाइरस भनेको एउटा रुघाखोकी जस्तो हो । लागिहाल्यो भने हाँच्छियु साँच्छियु गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ’ भन्ने अभिव्यक्ति र नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता बढी छ भन्ने प्रधानमन्त्रीको दाबी, उनको भजन मण्डलीले प्रचार गरेजस्तो कोरोना संक्रमितले कसरी उच्च मनोबल राख्ने भन्ने सन्दर्भसँग जोडिएको विषयभन्दा पनि तथ्य, तथ्यांक र बैज्ञानिक सत्यभन्दा विपरीत हावादारी, आधारहीन र गैरजिम्मेवारपूर्ण छ भन्ने प्रमाणित भइसकेको छ ।
नेपालमा कोरोना कडा छैन, आत्तिनु पर्दैन, यसबाट कोही मर्दैन भन्दै आएका प्रधानमन्त्रीले कोरोनाको सुरुवाती संक्रमण ताका गरेको टिप्पणी र तातोपानीले हात धुनुस् फ्याटीय तत्व मरेर जान्छ भन्ने दाबीले जग हँसाई गरेकै थियो ।
कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ तर प्रधानमन्त्री ओली कोरोनाले मृत्यु भएकै होइन भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिदैं हिडिरहेका छन् । देशको कार्यकारी हैसियतका प्रधानमन्त्री त्यसरी गैरजिम्मेवार रुपमा प्रस्तुत हुनु भनेको आम जनताको अगाडि नाङ्गिनु हो ।

कोरोना संक्रमणले सिंगो संसार नै आक्रान्त भएको र मुलुक लकडाउनको अन्तहीन पीडाबाट गुज्रिरहेको बेला प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले यस्ता सस्ता, सामान्य र हल्काफुल्का टिप्पणी गर्दै हँसी मजाक गर्ने र आफ्नो विज्ञता नभएको विषयमा प्रवचन छाट्ने बेला पटक्कै होइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा संघीय संसदमा राखेको धारणाले रोम जल्दा बाँसुरी बजाएर बस्ने शासक नेरोको झल्को दिएको छ । संसद, खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भन्ने स्कुलिङबाट आएका प्रधानमन्त्रीले जाने बुझेरै संसदीय ब्यवस्थाको खिल्ली उडाउन त्यसो गरेका हुन् वा म जे बोल्छु त्यही मात्रै सत्य हो र बाँकी सारा जगत मिथ्या भन्ने अहंम् र भ्रममा परेर त्यसरी मनपरी बकबक गर्दै हिंडेका नै किन नहुन्, उनका ती सबैखाले हर्कतबाट कोरोना संक्रमितको मनोबल बढेको छैन बरु उल्टै संसदीय ब्यवस्था र पद्धतिकै उपहास भएको छ ।
प्रधानमन्त्री भनेको कुनै खास पार्टीको मात्र होइन सिङ्गो देश र जनताको लिडर हो । उनी सबैको रोल मोडल पनि हुन् । आखिर उनकै सिको सबैले गर्ने हुन् । त्यसैले उनले अन्टसन्ट बोल्ने होइन, तौलितौली बोल्नु पर्ने र सोचीसोची कदम चाल्नु पर्ने हो ।
कोरोना, सडक आन्दोलन, भ्रष्टाचार, लकडाउनलगायतका जनसरोकारका मुद्दामा भन्दा पनि हिमाली हावा, यार्सा र बेसार पानीमा प्रवचन दिने र तथ्य र तथ्यांकको वास्तै नगरी जनतालाई गलत सूचना दिँदै हिड्ने प्रधानमन्त्रीको भद्दा मजाकले जनतामा थप निरासा र आक्रोश मात्रै पैदा गरेको छ ।
संसद होस् वा अन्यत्र कतै, प्रधानमन्त्रीको प्रस्तुति देश, जनता र संसदप्रति जवाफदेही र मुलुकले भोग्नु परेको संकटको समाधानतर्फ गम्भीर र समाधान उन्मुख भएको देखिनु पर्ने हो । प्रधानमन्त्री ओली त्यसो गर्नबाट नराम्ररी चुकेका छ्न् र सस्तो प्रहसनमै ब्यस्त भएका छन् ।
प्रधानमन्त्रीको मजाकिया प्रवृत्ति कोरोना कालमा सुरु भएको होइन । यो उनको पुरानै आदत हो । चुनाव ताका जितेपछि वृद्धभत्ता बढाएर पाँच हजार पु¥याउने अनि खनखनी गनेर बुढाबुढीको हातमा थपक्क राखेर ढोग्ने प्रधानमन्त्रीको आश्वासन पूरा भएन, वृद्धबृदामाथिको भद्दा मजाक साबित भयो ।
तुइन हटाउने, पूर्व–पश्चिम रेल चलाउने, ग्यासको पाइप चुलाचुलामा पु¥याउने, बिजुली गाडी देशभर कुदाउने, नेपालको झण्डा फहराउँदै पानी जहाज चलाउनेलगायतका प्रधानमन्त्रीको सुखी नेपाली र समृद्ध राष्ट्रको नाराहरु अन्ततः कुनै कमेडीभन्दा कम भएनन् ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्ति त्यसरी बेलगाम दौडिएको र बेला कुबेला बेतुकको हावादारी गफ लडाउँदै जग हँसाई गर्दै हिंडेको बेला कम्तीमा पनि उनकै पार्टीका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई सजग र सतर्क गराउनु पर्ने हो ।
‘बादशाहको नयाँ लुगा’ कथाका पात्रहरु झैं हो मा हो मिलाएर झन उकासी उकासी ताली बजाउने र प्रधानमन्त्रीलाई अनावश्यक रुपमा हौस्याउने कार्यकर्ताको अन्धोपंक्तिले उनको ब्यक्तित्वलाई जोकरको दर्जामा पु¥याइदिएको छ ।
यतिखेर मुलुक कोरोना भाइरसले ग्रस्त छ । नौं हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने त्यसरी संक्रमित हुनेको संख्या दिन प्रति दिन बढ्दै गएको छ । कोरोनाकै कारण २३ जनाको मृत्यु पनि भइसकेको छ । देशभरका स्कुल, कलेज, पार्टी प्यालेस र होटलहरु होल्डिङ सेन्टर र क्वारेन्टाइनमा परिणत भएका छन् । लाखौं बालबालिका र विद्यार्थीहरुको पठनपाठन ठप्प छ । लाखौं जनताको रोजीरोटी गुमेको छ । उद्योग कलकारखाना सबै बन्द छन् । त्यसरी चुँलिदै गएको स्वास्थ्य संकटको ब्यवस्थापनमा १० अर्ब खर्च भइसकेको छ भने थप अरु कति खर्च लाग्ने हो, ठेगान छैन । वास्तवमै यतिखेर मुलुक ठूलो संकटमा परेको छ ।
तर बिडम्बना, मुलुक यति ठूलो संकटमा फसेको र गम्भीर स्वास्थ्य संकटबाट गुज्रिरहेको बेला सिंगो मुलुकको अभिभावकत्व वहन गर्ने राष्ट्रको प्रमुख एवं कार्यकारी प्रधानमत्री केपी शर्मा ओली भने मजाक, ठट्टा र जुहारीमै व्यस्त छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments