
सरिता गिरीमाथि नैतिक संकट, संशोधन प्रस्ताव फिर्ता नलिए पार्टीले कारबाही गर्ने
काठमाडौं : समाजवादी पार्टीले सांसद सरिता गिरीलाई उनले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ। बुधबार पार्टी प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति सार्वजनिक गर्दै संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्।
विज्ञप्तिमा गिरीले उक्त प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ। सांसद गिरीले नेपालको संविधान दोस्रो संशोधन विधेयक खारेज गर्न माग गर्दै बुधबार संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन्। गिरीको उक्त प्रस्तावको चौतफी विरोध भइराखेको बेला पार्टीलेसमेत उनलाई कारबाहीको चेतावनी दिएको हो।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल भएको थियो। संसदमा सबै एक मत भए पनि गिरीले पार्टी संसदीय दलको अनुमति बिना एकल रुपमा उक्त प्रस्ताव दर्ता गराएकी हुन्।
‘उपरोक्त सम्बन्धमा संघीय संसदमा दर्ता भएको नेपालको संविधानको दोस्रो संशोधनमा तपाईले संसदीय दलको निर्देशन बिना मिति २०७७ जेठ २८ गते संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिनुहुन निर्देशन गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।