समाजसेवा गर्दा छुट्टै आत्मसन्तुष्टि मिल्छ : दीलिप थापा

दीलिप थापा, नेपालको सामाजिक क्षेत्रका अग्रणी व्यक्ति हुन् । काठमाडौं बुद्धनगर निवासी थापा सामुदायिक सेवा समिति, बुद्धनगर टोल सुधार समिति र थर्ड आई स्पोर्ट्स क्लबलगायत विभिन्न संघसंस्थासँग आवद्ध भएर तथा व्यक्तिगत रुपमा पनि सामाजिक अभियानमा विगत लामो समयदेखि संलग्न रहँदै आएका छन् । थापाले दुःखी गरीव र अप्ठयारोमा परेका व्यक्तिहरुलाई निरन्तर रुपमा सहयोग गर्दै आएका छन् । उनले बुद्धनगरकै कार्यविनायक मन्दिर निर्माणमा पनि आफूलाई क्रियाशील बनाउँदै आएका छन् । काब्य स्कुलका संस्थापक सदस्यसमेत रहेका थापाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका लागि पनि निरन्तर रुपमा पहल गर्दै आएका छन् ।
नेपाल तरुण दल, काठमाडौं क्षेत्र नं १ का सभापतिसमेत रहेका थापाले राजनीतिक रुपमा भन्दा पनि सामाजिक अभियन्ताका रुपमा आफूलाई चिनाउँदै आएका छन् । उनकै विशेष पहलमा कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई थर्ड आई स्पोर्ट्स क्लबको सहकार्यमा खाना खुवाउने अभियान सञ्चालन गरिएको थियो । उनकै विशेष पहलमा बुद्धनगर क्षेत्र सरसफाइ, लागुऔषधविरुद्धको सचेतनालगायत थुप्रै कार्यक्रम सञ्चालन हुँदै आएको छ । समाजसेवी थापासँग उनको सामाजिक जीवनका बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको संम्पादित अंश :

 
लामो समयदेखि आफूलाई सामाजिक कार्यमा क्रियाशील बनाउँदै आउनु भएको छ । अहिलेसम्म तपाईले गर्नुका सामाजिक कामका बारेमा बताइदिनुस् न ?
विभिन्न क्लब र संघसंस्थाको सहकार्यमा २०७२ सालदेखि हरेक हप्ता बुद्धनगर सरसफाइको कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यस्तै दुखी तथा असहाय व्यक्तिलाई विभिन्न किसिमका सहयोग पनि हामीले गरिरहेका छौं । बुद्धनगरमा दुई वटा ढुंगेधारा निर्माणको काम पनि भइरहेको छ । ढुंगेधारालाई लकडाउन सकिएपछि अझै आकर्षक बनाउन जुट्ने तयारी गरिरहेका छौं । यसैगरी जोगीकुटीको जग्गा सार्वजनिक बनाउन पनि हामीले सफलता प्राप्त गरेका छौं । यस बाहेक, गरिव तथा असहायलाई खाना खुवाउने, राहत वितरण गर्नेलगायतका काम पनि निरन्तर रुपमा गरिरहेका छौं ।


टोल सरसफाइका काम सुरु गरेको चाहिँ कति हप्ता भयो ?
अहिलेसम्म करिब एक सय ६० हप्ता सरसफाइ गरिसकेका छौं । लकडाउनका कारण स्थगित भएको यो अभियान लकडाउन सकिएपछि पुनः सुचारु हुनेछ ।

सरसफाइको काम सुरु गर्नु भएको लामो समय भइसकेको छ । यो अवधिसम्म आइपुग्दा स्थानीयको सरसफाइप्रतिको चेतना चाहिँ कस्तो पाउनु भएको छ ?
पहिले हामीले सुरु गर्नुअघि बुद्धनगर निकै नै फोहर थियो । अहिले यहाँको अवस्थामा आमूल परिवर्तन आइसकेको छ । यहाँका मानिसहरुमा पनि हाम्रो ठाउँको सरसफाइ हामी आफैले नै गर्नुपर्छ भन्ने चेतना बढेको छ । सरसफाइमा थर्ड आई क्लबका साथीसँगै स्थानीयको सहभागिता पनि निकै बढेको छ । यहाँका मानिसहरुको चेतना स्तर पनि बढेको छ ।

पहिलेभन्दा फोहर पनि कम भएको होला नि ?
अवश्य पनि कम भएको छ । पहिले हामीले सुरु गर्दा धेरै नै फोहर संकलन हुन्थ्यो । अहिले निकै कम मात्र फोहर निस्किन्छ । हप्तामा दुई पटक फोहर संकलन पनि गर्न आउने भएकाले हामीलाई सहज भएको छ ।

सरसफाइका कार्यक्रम आगामी वर्ष पनि निरन्तर सञ्चालन हुन्छ कि केही समयपछि बन्द हुन्छ ?
सरसफाइ अभियान थर्ड आई स्पोर्ट्स क्लबको अभिन्न अंग बनिसकेको छ । आफ्नो घर मात्र होइन, टोल पनि सफा गर्नुपर्छ भन्ने चेतना अभिवृद्धि नभएसम्म यो अभियान निरन्तर चलिरहन्छ ।

लकडाउनको समयमा गरिव तथा असहायलाई खाना खुवाउने काम पनि गर्नु भएको थियो । कसरी यो काम गर्ने सोच बनाउनु भयो ?
कोभिड–१९ को महामारीका कारण गरिएको लामो लकडाउनले मानिसहरु भोकभोकै तड्पिरहेको देखेर उनीहरुका लागि केही गर्न सकिन्छ कि भनेर क्लबका पदाधिकारी र काब्य स्कुलका संस्थापक साथीहरुसँग सल्लाह गरेका थियौं । उहाँहरु सबैले खाना खुवाउनु नै उचित हुन्छ भनेर हौसला दिनु भएपछि हामी आफैले केही रकम उठाएर बैशाख १६ गतेबाट खाना खुवाउने अभियान सुरु गरेका थियौं । अभियानको पहिलो दिन एक ३० जनालाई खाना वितरण ग¥यौं भने त्यसपछिका दिनमा पाँच सयसम्मले खाना खाँदै आएका थिए । यो कामलाई लकडाउन अवधिभर सञ्चालन गर्ने योजना बनाएका थियौं तर, सरकारको निर्देशनपछि खाना खुवाउने अभियान बन्द गरी आपतविपतमा परेकाहरुलाई खाद्यान्नलगायतका राहत वितरण गर्ने अभियान सुरु गरेका छौं । हामीले बैशाख १६ बाट चैत ५ गतेसम्म खाना खुवाउने काम गरेका थियौं । त्यस अभियानका लागि विभिन्न व्यक्तिहरुले पनि सहयोग गर्नुभएको थियो । हामीले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर खाना वितरण गरेका थियौं ।
सरकारले देशका सबै स्थानमा खाना वितरणको काम बन्द गर्न भनेपछि हामीले त्यसलाई बन्द गरेर राहत वितरणका कार्यक्रम सञ्चालन गरिरहेका छौं । हामीलाई राहतका लागि विभिन्न माध्यमबाट आग्रह भएपछि कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सुरक्षित तवरमा उहाँहरुकै स्थानमा राहत पु¥याइदिने काम गरिरहेका छौं ।

खाना खुवाउने अभियानमा तपाईहरु आफैले मात्र सहयोग गर्नु भएको थियो कि अरुबाट पनि सहयोग पाउनु भएको थियो ?
हाम्रा सहयोगी हातहरुले हामीलाई निरन्तर सहयोग गर्दै आउनु भएको थियो । उहाँहरुकै साथ र सहयोगले नै यति ठूलो अभियान सञ्चालन गर्न हामी सफल भएका थियौं । हामी आफैले पनि अभियानमा सहयोग गरिरहेका छांै ।

यो अभियानमा काब्य स्कुलले चाहिँ के–के सहयोग गरेको थियो ?
हामीले काब्य स्कुलकै प्रांगणमा खाना बनाएर खुवाउने काम गर्दै आएका थियौंैं । खाना बनाउनका लागि स्कुलकै भाँडाकुँडा प्रयोग गरेका थियौं भने जनशक्ति पनि स्कुलले नै परिचालन गर्दै आएको थियो । यसैगरी हामी आफैले पनि विभिन्न खाद्यान्न र अन्य आवश्यक सामग्री पनि सहयोग गर्दै आएका थियौं ।

तपाईहरुले गर्नु भएको कामको प्रतिक्रिया चाहिँ कस्तो पाउनु भयो ?
लकडाउनका कारण प्रभावित व्यक्तिहरु निकै खुसी भएका थिए । अन्यत्रको भन्दा खानाको स्तर धेरै राम्रो छ भनेर हाम्रो हौसला बढाउने काम गर्नु भएको थियो । उहाँहरुको सल्लाह, सुझावबाटै हामी उत्साहित भएर जेठ ६ गतेदेखि राहत वितरणमा सक्रिय भएर लागिरहेका छौं ।

राजनीतिक कार्यकर्ताका रुपमा तपाईले गर्नु भएको भूमिकाका बारेमा पनि केही बताइदिनुस् न ?
यस क्षेत्रको तरुणहरुको नेतृत्वदायी भूमिकामा भएकाले तरुणहरुका लागि आवश्यक सहयोगहरु निरन्तर रुपमा गर्दै आएको छु । तरुणकै हैसियतमा बानेश्वरकै किङकम क्लबले सञ्चालन गरेको खाना खुवाउने अभियानलाई पनि सहयोग गरेको थिएँ । यस बाहेक अन्य थुप्रै कार्यक्रमहरुलाई पनि सहयोग गर्दै आएको छु ।

तपाई आफूलाई समाजसेवीका रुपमा चिनाउन चाहनुहुन्छ हो ?
मेरो सानैदेखिको सोख समाजसेवा गर्ने नै हो । दिनदुखीलाई सहयोग गर्न पाउँदा मनमा छुट्टै किसिमको आनन्द र आत्मसन्तुष्टि मिल्छ । आगामी दिनमा पनि सामाजिक काममा निरन्तर रुपमा खटिने छु । हेर्दै जाऔं आगामी दिनमा कतिसम्म गर्न सक्छु ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments