सुन्दरको सहयोगी मन : लकडाउनमा निरन्तर राहत वितरणमा जुट्दै

काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापालाई नेपाली खेलकुद वृत्तमा चिनाइरहनु पर्दैन । नेपाली खेलकुदको श्रीवृत्तिमा लामो समय खर्चिएका थापाले सामाजिक क्षेत्रमा पनि आफ्नो सशक्त उपस्थिति जनाउँदै आइरहेका छन् ।
वि.सं. २०७२ सालको विनासकारी भूकम्पको प्रतिकुल समयमा होस् या त्यसपछिको अनुकुल समयमा नै किन नहोस्, सुन्दर थापा निरन्तर सामाजिक काममा सक्रिय रुपमा सहभागी हुँदै आएका छन् । भूकम्पका बेला उद्वार तथा राहत वितरणजस्ता मानवीय सेवामा खटेका उनी त्यसपछि पनि विभिन्न विद्यालयमा पोसाक तथा खेलकुद सामग्री वितरणमा सक्रिय रुपमा लाग्दै आएका छन् । उनले काठमाडौंका विभिन्न स्थानका विद्यालयका साथै धादिङ, रामेछाप, ओखलढुंगालगायतका जिल्लाका विद्यालयका विद्यार्थीका लागि खेलकुद सामग्री उपलब्ध गराएका थिए ।


कोरोना भाइरसको महामारीका कारण नेपालमा लकडाउन सुरु भएसँगै उनी राहत वितरणमा पनि सक्रिय रहँदै आएका छन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलगायत गरिव तथा असहायहरुलाई उनले विभिन्न सहयोग गरिरहेका छन् ।
स्मारक ए डिभिजन लिगलगायत प्रतियोगिता खेल्नका लागि नेपालमा बस्दै आएका विदेशी खेलाडीलाई थापाले उनीहरु बसेकै स्थानमा पुगेर खाद्यान्न सहयोग गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक तथा वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्षसमेत रहेका थापाले काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गर्दै आएका छन् । उनले आफ्नै व्यक्तिगत खर्चमा चामल, दाल, नुन, तेल, बिस्कुटसँगै विभिन्न तरकारी र अत्यावश्यक खाद्यान्न सहयोग गरिरहेका छन् ।


कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका आफूहरुलाई अत्यावश्यक खाद्य सामग्री सहयोग गरेकोमा विदेशी खेलाडीहरुले समेत थापाको सहयोगी मनको खुलेर प्रसंशा गरेका छन् । लकडाउनका कारण सम्पूर्ण नेपाली जनता प्रभावित बनेका बेलामा पनि थापाले मानवीयताका हिसावले आफूहरुलाई सहयोग गर्दै आएको उनीहरुले बताएका छन् ।
पूर्वफुटबलर सुन्दर थापा पनि अहिलेको विषम् परिस्थतिमा आफूले स्वदेशी तथा विदेशीभन्दा पनि मानवीय हिसावमा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएको बताउँछन् । ‘मैले स्वदेशी तथा विदेशी सबैलाई सहयोग गर्दै आएको छु’, उनी भन्छन्, ‘अहिले हाम्रो मुलुकमा रहेका विदेशी खेलाडीलाई हामीले नहेरे कसले हेर्छ भनेर अत्यावश्यक सामग्री सहयोग गरेको हुँ ।’ उनले आपत्विपत्मा परेका जोकोहीलाई पनि आफूले मानवताका नाताले सक्ने सहयोग गरिरहने प्रतिवद्धता जनाए ।


थापाको विशेष पहलमा लकडाउन अघि वेस्ट काठमाडौं क्लबले विभिन्न उमेर समूहका बालबालिकालाई फुटबल प्रशिक्षण गराउँदै आएको थियो । क्लबले चर्चित स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँगको सहकार्यमा बालबालिकालाई प्रशिक्षण गराउँदै आएको छ । प्रशिक्षणका लागि एट्लेटिको म्याड्रिडले सहयोग गरिरहेको छ । थापाकै पहल र अग्रसरतामा वेस्ट काठमाडौंले एट्लेटिको म्याड्रिडसँग सहकार्य गरेको हो ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments