काठमाडौं : हरेक नयाँ वर्षमा दशनार्थीको भिड लाग्ने चम्पादेवीमा यस पटक नित्य पूजा मात्र हुने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण र ‘लकडाउन’को पालनाका लागि चम्पादेवीमा नित्य पूजा मात्रै गर्न लागिएको हो ।
हरेक नयाँ वर्षको दिन काठमाडौंको पश्चिमी क्षेत्रमा चम्पादेवीमा जात्रा लाग्ने र चम्पादेवीको पूजाअर्चना हुँदै आएकोमा यस वर्ष पुजारीबाट नित्य पूजा मात्रै हुने कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र बानियाँले जानकारी दिए ।
उनले आइतबार एक सूचना प्रकाशित गरी अहिलेको जटिल परिस्थितिका कारण यस पटक चम्पादेवी मन्दिरमा आउने भक्तजनलाई नआइदिन अनुरोध पनि गरेका छन् । ‘धेरै भिडभाड हुने भएकाले मेलामा नआइदिन सबै भक्तजनलाई अनुरोध गरेका छौं’, उनले भने ‘सुरक्षा निकायसँग समन्वय गर्दै स्वयंमसेवक परिचालन गरेर भोलि चम्पादेवी जानलाई रोक्छौं ।’ उनले दक्षिणकाली नगरपालिकाले पनि चम्पादेवी जान यसअघि नै रोक लगाइसकेकाले वडाले पनि रोक लगाएको जानकारी दिए ।
हरेक नयाँ वर्षमा चम्पादेवीमा मेला लाग्ने गर्दछ । यस दिन विभिन्न जातजाति र गुठीले चम्पादेवीमा विशेष पूजा पनि गर्ने गर्दछन् ।