काठमाडौं : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले स्वास्थ्य सामग्री खरिद सिधै सरकारले गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समितिको बैठकले स्वास्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकारले सोझै खरिद गर्ने निर्णय गरेको हो ।
सार्वजनिक ऐन बमोजिम विशेष परिस्थितीमा विदेशी सरकारबाट सिधै खरिद गर्ने व्यवस्था अनुसार यस्तो निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बैठकपछि जानकारी दिए । समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी संकटको अवस्थामा बिरामी रिसिभ गर्ने टिम (पीआरटी)को जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीको टिमलाई दिने निर्णयसमेत समितिले गरेको छ । समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय पनि गरेको छ ।
यसैगरी सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय पनि गरेको छ । उच्चस्तरीय समितिको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था गरिने भएको छ ।