मिशाराको शतकबाट उत्साहित चितवनलाई रोक्दै लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा सुदूरपश्चिम, विजेताले उपाधिका लागि लुम्बिनीसँग खेल्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल पुग्ने अन्तिम टोलीको टुंगो आज लाग्दैछ। दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दुवै टोलीका लागि उपाधि यात्रामा टिकिरहने अन्तिम अवसर हो।
लिग चरणमा दोस्रो स्थान हासिल गरेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो। अर्कोतर्फ, चितवनले एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
आजको खेल जित्ने टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। त्यसैले दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दबाब छ। सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा छ भने चितवन पहिलो पटक फाइनलमा स्थान बनाउने ध्याउन्नमा छ।
सुदूरपश्चिमलाई ब्याटिङ सुधार्ने चुनौती
लिग चरणमा सुदूरपश्चिमले सात खेलबाट पाँच जित र दुई हारसहित १० अंक जोड्दै दोस्रो स्थान हासिल गरेको थियो। प्रतियोगिताको सुरुवाती तीन खेलमध्ये दुईमा पराजित भए पनि त्यसपछि लगातार चार खेल जित्दै टोलीले आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको थियो।
तर पहिलो क्वालिफायरमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ चल्न सकेन। पहिले ब्याटिङ गरेको टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय पाँच रन मात्रै बनाउन सक्यो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
दीपेन्द्रको अनुभव र अलराउन्ड प्रदर्शन सुदूरपश्चिमका लागि महत्त्वपूर्ण हुनेछ। उनले प्रतियोगितामा अहिलेसम्म दुई सय दुई रन बनाइसकेका छन्। त्यस्तै, स्कट कुगेलेइन, ब्रान्डन म्याकमुलेन, सैफ जैब र शेरफेन रदरफोर्डजस्ता खेलाडीबाट टोलीले ठूलो अपेक्षा राखेको छ।
बलिङमा अनिल खरेल र स्कट कुगेलेइन सुदूरपश्चिमका मुख्य हतियार हुन्। दुवैले प्रतियोगितामा समान १० विकेट लिएका छन्। हेमन्त धामी, अविनाश बोहरा र दीपेन्द्रको बलिङले पनि टोलीलाई सन्तुलित बनाएको छ।
पहिलो क्वालिफायरमा कमजोर देखिएको ब्याटिङ सुधार्न सके सुदूरपश्चिमलाई रोक्न चितवनका लागि सहज हुने छैन।
मिशाराको ब्याटिङ चितवनको भरोसा
चितवनले पछिल्लो खेलमा देखाएको प्रदर्शनले टोलीको आत्मविश्वास बढाएको छ। एलिमिनेटरमा काठमाडौंविरुद्ध चितवनले चार विकेट गुमाएर २०४ रनको विशाल योगफल बनाएको थियो। जवाफमा काठमाडौं १४३ रनमै समेटिएपछि चितवनले ६१ रनको फराकिलो जित हात पारेको थियो।
चितवनको जितमा श्रीलंकाली ब्याटर कामिल मिशाराको प्रदर्शन विशेष रह्यो। उनले ५९ बलमा अविजित १२० रन बनाउँदै एनपीएल इतिहासकै सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान बनाए। उनको इनिङ्समा १० छक्का र पाँच चौका समावेश थिए।
मिशारालाई अनुभवी ब्याटर रवि बोपाराले उत्कृष्ट साथ दिएका थिए। यी दुईले तेस्रो विकेटका लागि १५४ रनको साझेदारी गरेका थिए। बोपाराले ४२ बलमा ५३ रन बनाएका थिए। मिशारा र बोपाराको यही लय कायम रहन सके सुदूरपश्चिमका बलरमाथि दबाब बढ्न सक्छ।
चितवनका लागि बलिङमा रिजन ढकाल मुख्य खेलाडीका रूपमा देखिएका छन्। उनले काठमाडौंविरुद्ध चार विकेट लिएका थिए। त्यस्तै, कमलसिंह ऐरीले पनि प्रतियोगितामा १२ विकेट लिइसकेका छन्। उसामा मिरले पनि पछिल्लो खेलमा तीन विकेट लिँदै आफ्नो प्रभाव देखाएका थिए।
यद्यपि, चितवनलाई एउटा समस्या छ। टोलीले लगातार दोस्रो दिन मैदानमा उत्रनुपर्नेछ। त्यसमा पनि बिरामी भएका कारण पछिल्लो खेलमा नखेलेका सिकन्दर राजाले अब प्रतियोगितामा खेल्ने सम्भावना नरहेको बताइएको छ। राजाको अनुपस्थितिमा चितवनले उपलब्ध खेलाडीबाटै बलियो संयोजन बनाउनुपर्नेछ।
सुदूरपश्चिमको हेड टु हेडमा अग्रता
दुई टोलीबीच एनपीएलका तीन संस्करणमा अहिलेसम्म तीन खेल भएका छन्। त्यसमा सुदूरपश्चिमले दुई र चितवनले एक खेल जितेका छन्।
पहिलो संस्करणमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हराएको थियो। दोस्रो संस्करणमा सुदूरपश्चिमले ४९ रनको जित निकाल्दै बदला लिएको थियो। जारी संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले चितवनलाई पाँच विकेटले पराजित गरेको थियो।
यसले सुदूरपश्चिमलाई मनोवैज्ञानिक रूपमा केही बलियो बनाएको छ। तर प्लेअफमा चितवनले देखाएको पछिल्लो प्रदर्शनलाई कमजोर आँकलन गर्न मिल्दैन। विशेषगरी मिशाराको आक्रामक ब्याटिङ सुदूरपश्चिमका लागि चुनौती बन्न सक्छ।
कसको सपना पूरा होला ?
सुदूरपश्चिम यसअघि एनपीएलका दुवै संस्करणको फाइनलमा पुगेको थियो। तर टोलीले दुवै पटक उपाधि जित्न सकेन। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ।
अर्कोतर्फ, चितवनले अहिलेसम्म फाइनलको यात्रा तय गर्न सकेको छैन। त्यसैले आजको खेल टोलीका लागि इतिहास बनाउने अवसर पनि हो। एलिमिनेटरमा काठमाडौंलाई हराएर प्लेअफमा पहिलो जित निकालेको चितवन त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
खेल विवरण
-
खेल : सुदूरपश्चिम रोयल्स विरुद्ध चितवन राइनोज
-
प्रतियोगिता : एनपीएल तेस्रो संस्करण, दोस्रो क्वालिफायर
-
स्थान : त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर
-
समय : साँझ ५ बजे
-
विजेताको प्रतिस्पर्धी : लुम्बिनी लायन्स (फाइनल)

नेपालमाला
