धनगढी : चिकित्सकले सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहेको बताएका छन्। भारतबाट नेपाल भित्रिएका नेपालीमा पनि कोरोनाको संक्रमण देखिनु र तेस्रो मुलकबाटै संक्रमित भएर आएका व्यक्तिले परिवारलाई सारेको पुष्टि भएपछि जोखिम बढेको चिकित्सकले बताएका हुन्।
शनिबार मात्रै भारतटबाट फर्केर कञ्चनपुरको बेदकोट नगरपालिका-९ को कृषि फाइलट फार्म छात्रबासको क्वारेन्टाइनमा बसेका ४१ वर्षका पुरुष र कैलालीको लम्की चुहा नगरपालिका–९ मै रहेको सरस्वती माविको क्वारेन्टाइनमा बसेका २१ वर्षका युवकमा कोराना संक्रमण देखिएको थियो ।
कञ्चनपुरको बेदकोटका व्यक्ति भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाबाट फर्केका हुन भने कैलालीको लम्कीचहाका युवक भारतको महाराष्ट राज्यको मुम्बईबाट घर फर्किएका हुन्। फागुनको अन्तिम हप्तादेखि लकडाउनको पहिलो दिनसम्म सुदूरपश्चिममा मात्रै डेढलाख मानिस नेपाल भित्रिसकेका छन् ।
सुदूरपश्चिममा शनिबारसम्म १५३ जनाको मात्रै थ्रोट स्वाब जाँच भएको छ। डेढ लाख त भारतबाटै आएका छन्। अझ तेस्रो मुलुकबाट आउनेको संख्या पनि छ। तीनजनामा कोरोना संक्रमण देखिएपछि यस क्षेत्रका बासिन्दा निकै त्रासमा छन् ।