धनगढी : शनिबार कोरोना संक्रमण देखिएका तीन जनामध्ये कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवक आन्दोलनमा सरिक भई प्रहरीलाई ढुंगामुढा गर्नेमध्येको एक भएको जनाइएको छ ।
चैत ११ गते कैलालीको गौरीफन्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेका उनी लकडाउनका बेला सीमामा रहेका ९९८ जनासँगै विभिन्न १९ वटा बसमा घर पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।
गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै प्रहरीलाई ढुंगामुढा गरेका उनीहरुको नाम ठेगानासहितको रेकर्ड राखेर बसमा राखेर पठाएका थिए । उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने सर्तमा आ–आफ्नो घर पठाइएको थियो ।
११ गते लम्कीचुहास्थित घरमै बसेका उनलाई दोस्रो दिन मात्रै क्वारेन्टाइनमा लगिएको थियो । एक रात घरमा बसेका उनले घरमा पनि कोरोना सारेका हुनसक्ने आशंका गरिएको छ ।
उनीसहितका ४४ जनालाई चैत १२ गते मात्रै लम्कीचुहा नगरपालिका–९ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई घरघरबाट बोलाएर क्वारेन्टाइनमा राखिएको थियो ।
तर, क्वारेन्टाइनमा राखिएका ४४ जनाकै दैनिक स्वास्थ्य चेकजाँच, ज्वरो आदि नाप्ने गरिए पनि कुनै समस्या भने देखिएको थिएन ।
Previous Article