काठमाडौं : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणले सिंगो देश आक्रान्त बनेका बेला जनतालाई राहत, सहास र हौसला दिनुपर्ने सरकार आफै भ्रष्टाचार, अनियमितता र कमिसनको खेलमा लागेको बताएका छन् ।
शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष बस्नेतले विपद्का बेला भएका घृणित कार्यमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने चेतावनी दिएका छन् । ‘स्वास्थ्य सामग्री खरिद प्रक्रिया रद्द गरेर मात्र उन्मुक्ति पाइँदैन’, अध्यक्ष बस्नेतले भने, ‘सो प्रक्रियामा संलग्न मन्त्री, कर्मचारी र ब्यापारी सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ उनले विपद्को बेला जनआकांक्षा अनुरुप जिम्मेवार रुपमा काम गर्न पनि सरकारलाई सुझाव पनि दिए ।
यसैगरी स्वास्थ्य सामग्री खरिद प्रक्रिया र अनियमितताका बिषयमा समाचार प्रकाशित गरेको ‘काठमाडौं प्रेस’ अनलाइनको सामग्रीमा असंवैधानिक ढंगबाट नियन्त्रणमा लिई समाचार हटाउने र सोही विषयमा विज्ञप्ति प्रकाशित गरेका नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई धम्की दिनु आपराधिक कार्यको पराकाष्टा भएको अध्यक्ष बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई सदैव आत्मसात गर्दै आएको नेपाल तरुण दल र अन्य लोकतान्त्रिक शक्तिलाई यस्ता घृणित कार्य कदापि सह्य नहुने चेतावनी अध्यक्ष बस्नेतले दिएका छन् ।