काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह कोरोना भाइरसको विश्वब्यापी संक्रमणका कारण घरमा नै लकडाउनको पालना गरिरहेका आम नागरिकका समस्या बुझ्न आफ्नो निर्वाचन क्षेत्रका साथै काठमाडौंका विभिन्न टोलमा पुगेका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता सिंहले काठमाडौंका भोटाहिटी, डिल्लीबजार, बानेश्वर क्षेत्रमा पुगेर त्यहाँका स्थानीयहरुको समस्याका बारेमा जानकारी लिएका थिए । कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्दै नेता सिंहले ती क्षेत्रका नागरिहरुलाई कोरोनाको संक्रमणबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।
नेता सिंहले लकडाउन र कोरोनाका संक्रमणका कारण केही समस्या भएमा आफूलाई फोनबाट जानकारी गराउन पनि आग्रह गरेका थिए ।
यसैगरी नेता सिंहले सो क्षेत्रका विपन्न परिवार तथा सुकुम्बासी परिवारलाई राहत समेत वितरण गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर दैनिक मजदूरी गर्ने र विपन्न परिवारलाई राहत वितरण गरेका थिए ।