काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत एक महिनाभन्दा अघिदेखि गर्दै आएको ‘लकडाउन’ बैशाख २५ गतेसम्म लम्बिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ । यसअघिका लकडाउन उल्लंघनका घटना तीव्र भएपछि सरकारले थपिएको लकडाउन थप सशक्त बनाउने निर्णय गरेको हो ।
शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले नेपालमा अहिलेसम्मको समग्र अवस्थाको समीक्षा गर्दै लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।
नेपालमा अहिलेसम्म ५२ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् भने अरुको उपचार भइरहेको छ । अहिले सबै संक्रमितको उपत्यका बाहिर उपचार भइरहेको छ । उपत्यकामा संक्रमित सबै उपचारपछि घर फर्किसकेका छन् ।
सरकारले पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्म लकडाउन घोषणा गरेको थियो । दोस्रो पटक २५ चैतसम्म, तेस्रो चरणमा ३ बैशाख र चौथो चरणमा बैशाख १५ गतेसम्म लकडाउन अवधि बढाएको थियो ।
छिमेकी मुलुक भारतमा भने दोस्रो चरणको लकडाउनको अवधि आगामी मे ३ मा सकिँदैछ । भारतले पहिलो चरणमा २१ दिने लकडाउन घोषणा गरेको थियो । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट आठ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म २६ हजारभन्दा बढी संक्रमित भएका छन् ।
Previous Article
कोरोना संक्रमितको संख्या ५२ पुग्यो
Next Article