काठमाडौं : विभिन्न दाताहरुको सहयोगमा भोकभोकै परेका विद्यार्थीलाई राहत बाँडेको विषयमा कीर्तिपुर नगरपालिकाले एक विज्ञप्ति निकाल्दै सफेद झुट बोलेको छ । विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार दिनभर त्रिभुवन विश्वविद्यालय हाता कीर्तिपुरमा राहत बाँडिएको राहत सहयोगी दाताले नभई आफ्नो पहलमा बाँडिएको दाबी नगरपालिकाले गरेको छ ।
शनिबार कीर्तिपुर नगरपालिकाकी उपमेयर तथा प्रवक्ता सरस्वती खड्काले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा ‘नगरप्रमुख रमेश महर्जनले एभिन्युज टेलिभिजनको एक प्रत्यक्ष कार्यक्रममा शुक्रबार नै दुई सय बोरा चामल दिन नसक्ने भनेको कुरालाई तोडमतोड गरी हातै उठाएको भनेर नगरप्रमुखको मानसम्मानमा आँच पु¥याउने काम भएकाले सोप्रति खेद प्रकट गर्दछौं’ भनिएको छ ।
विज्ञप्तिमा यसअघि पनि विद्यार्थीका लागि राहत वितरण गरिएको र शुक्रबार पनि आफूहरुले नै वितरण गरिएको दाबी घुमाउरो पारामा गरिएको छ । नगरपालिकाले जारी गरेको विज्ञप्तिका विषयमा एभिन्युज टेलिभिजनले शनिबार साँझको प्रत्यक्ष कार्यक्रममा चिरफार गरिसकेको छ ।
बिहीबार साँझ एभिन्युज टेलिभिजनको कार्यक्रममा विद्यार्थीले भोकभोकै बस्नु परेको दुखेसो गरेपछि प्रस्तोताले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनसँग फोनमा सम्बाद गरेका थिए । उद्घोषकले कीर्तिपुरमा चार सय विद्यार्थी भोकै रहेको जानकारी गराउँदै नगरपालिकाले तत्काल ती विद्यार्थीलाई राहत उपलब्ध गराउन सकिन्छ कि सकिँदैन भन्दा मेयर महर्जनले जवाफ दिएका थिए, ‘तत्काल सकिन्न’ । उनले सरकारले उपलब्ध गराएको राहतमा ‘विद्यार्थी’ भन्ने मापदण्ड नरहेकाले दिन नसकिने जिकिर गरेका गिए । त्यसपछि उद्घोषकले नगर प्रमुख महर्जनसँगको सम्बाद टुटाए र भोकै रहेका विद्यार्थीका लागि राहतको अपील गरेका थिए । तत्कालै केही दाताले शुक्रबार बिहानै भोकै रहेका विद्यार्थीलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोही प्रतिवद्धता बमोजिम अशोककुमार खड्काले पाँच हजार केजी चामल र पााच केजी दाल उपलब्ध गराएका थिए । यस्तै श्री गुरुङले ६ सय केजी चामल, एक सय ५० केजी दाल र दुई सय लिटर तेल उपलब्ध गराए । एसपी सापकोटाले दुई सय लिटर तेल, नवराज रिजालले ५० लिटर तेल र विकास श्रेष्ठले १० बोरा आलु र पाँच बोरा प्याज उपलब्ध गराएका थिए । यी दाताले उपलब्ध गराएको राहत नौ सय ५६ जना विद्यार्थीलाई वितरण गरिएको थियो ।
Previous Article
आज पनि देखियो एक जनामा कोरोना संक्रमण
Next Article