के–के समेटिएको कोरोना निर्देशिकामा

काठमाडौँ : कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ । स्थानीयदेखि बहुविज्ञ सेवा प्रदान गर्ने अस्पतालको सेवा प्रवाहलाई निश्चित गरी सेवा चुस्त बनाइएको हो ।

बिरामीको सङ्ख्यामा हुनसक्ने सम्भावित वृद्धि र त्यसपछिको उत्पन्न हुनेसक्ने असहज परिस्थितिलाई मध्यनजर गरी सरकारले कोभिड–१९ र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै तहगतरुपमा स्वास्थ्य संस्थाको जिम्मेवारी छुट्याएको छ ।

स्वास्थ्य सेवा सञ्चालनमा समुचित मार्ग निर्देश गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिकामार्फत तहगतरुपमा सेवा विभाजन गरेको हो । निर्देशिका जारी भएसँगै तोकिएको अस्पतालले निर्देशिकामा उल्लेख भएअनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

प्राथमिक र विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद, सम्भावित र पुष्टि भएका बिरामीको व्यवस्थापन सरल र सहज बनाउन सरकारले उक्त निर्देशिका जारी गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । निर्देशिकामा कोभिडबाहेकका स्वास्थ्य सेवालाई निरन्तरता दिन र कोभिड–१९ को प्रभावकारी उपचार तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरेको छ ।

सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म सरल पहुँचका लागि स्थानीय तहले अवश्यक प्रबन्ध मिलाउने व्यवस्था गरिएको छ । कोभिड– १९ को शङ्कास्पद सम्भावित र पुष्टि भएका केसको व्यवस्थापनका लगि तहगत व्यवस्था गर्न भनिएको छ । महामारी अवधिभर कोभिड क्लिनिक सञ्चालन गरी शङ्कास्पद बिरामीलाई छुट्याइ सेवा सञ्चालन भइरहेको सरकारले जनाएको छ । मुलुकभरका अस्पताल र स्वास्थ्य संस्थालाई पाँच तहमा (लेबल)मा विभाजन गरिएको छ । कुन तहको स्वास्थ्य संस्थाले कस्तो सेवा उपलब्ध गराउने भन्ने स्पष्ट तोकिदिएको श्रेष्ठले बताउनुभयो ।

निर्देशिका अनुसार कुनै अस्पतालले उपलब्ध गराएको स्वास्थ्य सेवाका क्रममा कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म बिरामीलाई अन्य अस्पतालमा पठाउन पाउने छैन । पठाउँदा स्थानीय सरकारको आधिकारिक स्वास्थ्य संस्थाको स्वीकृति लिनुपर्नेछ ।

स्वास्थ्य सेवा सञ्चालनका लागि सरकारले निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई समेटेर १११ वटा कोभिड क्लिनिक अस्पताल सञ्चालन गरेको छ । ती अस्पतालले आवश्यक क्लिनिक सेवा दिने छन् । जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेज, कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल हुन् । मुख्य गरी आइसोलेसन, नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ । यसलाई दोस्रो तहको अस्पतालको मान्यता छ ।

पहिलो तहका अस्पताल    

सरकारले जारी गरेको निर्देशिकामा सबै स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र र प्राथमिक अस्पताल पहिलो तहका अस्पताल तोकिएको छ । यसले आधारभूत परामर्श तथा प्रेषण सेवा उपलब्ध गराउनेछ । यस किसिमका अस्पतालले बिरामीलाई आवश्यक परामर्श दिइ शङ्कास्पद भएकालाई नजिकको कोभिड क्लिनिक अस्पताल वा तोकिएको कोभिड अस्पतालमा समन्वय गरी पठाउने छन् ।

दोस्रो तहको अस्पताल    

जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेज कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल दोस्रो तहका अस्पताल हुन् । यस्ता अस्पताल मुलुकभर १११ वटा तोकिएको छ । उक्त अस्पतालमा आइसोलेसन वार्डसमेत छ । यहाँबाट नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ । उक्त अस्पतालले पहिलो तहबाट आएका बिरामीको स्क्रिनिङ गरी शङ्कास्पद बिरामीको आइसोलेसनमा राखेर उपचार गर्न सक्छन् । नमूना सङ्कलन गरी तोकिएको प्रयोगशालामा पठाउनुपर्ने हुन्छ । पोजेटिभ देखिएका सामान्य अवस्थाका बिरामीलाई ‘लेबल १ कोभिड’ अस्पतालमा र जटिल तथा अति जटिल अवस्थाका बिरामीलाई लेभल २ कोभिड अस्पतालमा सिधै पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

तेस्रो तहको अस्पताल    

सरकारले तेस्रो तहको अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पताल भनेर तोकेको छ । यहाँ सामान्य किसिमका बिरामीको उपचार हुन्छ । कोभिड क्लिनिकबाट पठाइएका र यही अस्पतालमा पहिचान भएका बिरामीको आइसोलेसनमा राखेर उपचार गर्ने काम ‘लेबल १ कोभिड’ अस्पतालले गर्छ ।

वाग्मती प्रदेशमा आयुर्वेद रिसर्च एण्ड टे«निङ सेन्टर कीर्तिपुर, काठमाडौँ मेडिकल कलेज भक्तपुर, कोरोना अस्थायी अस्पताल भरतपुर रहेका छन् । प्रदेश १ मा कोभिड अस्थायी अस्पताल विराटनगर र प्रदेश २ मा जानकी अस्पताललाई तोकिएको छ । गण्डकी प्रदेशमा बाग्लुङ अस्पताल र पोखरास्थित पोखरा एकेडेमी अफ हेल्थ साइन्सलाई तोकिएको छ ।

यस्तै प्रदेश नं ५ मा राप्ती एकाडेमी अफ हेल्थ रिसर्च अस्पताल, राप्ती प्रादेशिक अस्पताल दाङ, लुम्बिनी अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई तथा, कर्णाली प्रदेशमा अस्थायी कोभिड अस्पताल (सुर्खेत अस्पताल) र सुदूरपश्चिम प्रदेशमा अछाम अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पतालका रुपमा तोकिएको छ ।

चौथो तहको अस्पताल    

चौथो तहको अस्पताललाई ‘लेबल २ कोभिड’ अस्पताल भनेर तोकिएको छ । यहाँ मध्यम र अति जटिल बिरामीको उपचार हुन्छ । अन्य अस्पतालबाट रिफर भएर आएका बिरामी तथा अति जटिल केस यसले हेर्छ । हाइडिपेन्डेन्सी र आइसियू केयर भएका तोकिएका कोभिड अपतालमा प्रोटोकलअनुसार उपचार गर्ने गरिन्छ ।

यस्ता अस्पताल वाग्मती प्रदेशमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल र भरतपुर अस्पताल रहेको छ । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी र जनकपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा एकेडेमी अफ हेल्थ साइन्स अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा कर्णाली एकेडेमी अफ हेल्थ साइन्स र सुर्खेत अस्पताल तथा सुदूरपश्चिमा प्रदेशमा सेती अस्पताल छन् ।

पाँचौँ तहका अस्पताल    

‘लेबल ३ कोभिड’ अस्पतालहरु पाँचौँ तहका अस्पताल हुन् । यसमा बहुविज्ञ सेवा उपलब्ध छ । पूर्वको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ, नेपालगञ्ज मेडिकल कजेल कोहलपुरलाई लेबल ३ मा राखिएको छ । तेस्रो तहको कोभिड अस्पतालमा भने शल्यक्रिया सेवासहित बहुविज्ञ सेवा प्राप्त हुने छ ।

एम्बुलेन्स सेवा    

सरकारले कोभिड–१९ का बिरामीलाई अस्पताल पु¥याउनका लागि तयार पारिएको निर्देशिकाबमोजिम कोभिड केसका लागि सङ्घ, प्रदेश र जिल्ला तहमा आवश्यक एम्बुलेन्सकोसमेत व्यवस्था गरेको छ । काठमाडौँ उपत्यकाको हकमा एम्बुलेन्स सेन्टर (१०२) र कोभिड कल सेन्टर ११३३ मार्फत सेवा प्रदान भइरहेको छ ।

उपत्यका बाहिर नेपाल प्रहरीको १०० र एम्बुलेन्स कल सेन्टर १०२ मा फोन सम्पर्क गरेर सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडबाहेकका अन्य आकस्मिक र जटिल अवस्थामा समेत एम्बुलेन्स सेवा नियमित रहेको सरकारले जनाएको छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments