काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत तीन सातादेखि गर्दै आएको ‘लकडाउन’को अवधि बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । अब मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । अब फेरि १२ दिन मुलुक लकडाउनमा हुनेछ । सरकारले यसअघि घोषणा गरेको लकडाउनको अवधि बुधबार मध्यरातिसम्म रहेको थियो ।
बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय पनि गरेको छ । यसअघिका तीन साता लामो लकडाउनका क्रममा उल्लंघनका घटना तीव्र भएपछि सरकारले थपिएको लकडाउन थप सशक्त बनाउने निर्णय गरेको हो । सरकारले यसअघि बैशख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो ।
नेपालमा अहिलेसम्म १६ जनामा कोराना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अरुको उपचार भइरहेको छ । आज मात्रै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा शंकास्पद् रुपमा बस्दै आएका तीनमध्ये दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जनाको भने पुर्नपरीक्षण गरिँदैछ ।
पहिलो चरणमा ११ चैतदेखि १८ चैतसम्मको समय थप गरिएकोमा दोस्रो पटकको निर्णयबाट २५ चैतसम्म लम्बाइएको थियो । तेस्रो चरणमा ३ बैशाखसम्म लकडाउन अवधि थप्ने निर्णय गरेको थियो ।
छिमेकी मुलुक भारतमा पनि पहिलो चरणमा घोषणा गरिएको २१ दिने लकडाउन मंगलबार सकिनासाथ प्रधानमन्त्री नरेन्द्र मोदीले बैशाख २१ गतेसम्मका लागि लकडाउन घोषणा गरिसकेका छन् ।
Previous Article