कीर्तिपुरमा पानीको आपूर्ति सहज हुने

काठमाडौं : विगत तीन सातादेखि धारामा पानी नआउने समस्या झेलिरहेका गाम्चा, सल्यानस्थान, झुलपोखरी, कीर्तिपुर, पाँगा, भाजंगल, नगाउँलगायतका टोलमा बुधबारबाट नियमित रुपमा पानी आपूर्ति हुने भएको छ ।

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र बानियाँको विशेष पहलमा सिम र विष्ट गाउँका स्थानीयसँग सहमति गरी नियमित रुपमा पानी आपूर्ति गर्न लागिएको हो । सिमबाट आपूर्ति हुने पानी दिउँसोको समयमा विष्ट गाउँलगायत त्यस क्षेत्रका बासिन्दाले उपभोग गर्ने र रातिको समयमा गाम्चा, सल्यानस्थान, झुलपोखरी, कीर्तिपुर, पाँगा, भाजंगल, नगाउँलगायतका टोलका लागि आपूर्ति गर्ने व्यवस्था मिलाइएको हो ।

वडा अध्यक्ष बानियाँले खानेपानी आपूर्तिको व्यवस्थापनका लागि आफ्नै निजी खर्चमा एक जना कर्मचारीसमेत नियुक्त गरेका छन् । रातिको समयमा पानी व्यवस्थापनका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) बाट तत्काल कर्मचारी खटाउन सम्भव नभएपछि कीर्तिपुर नगरपालिकाले एक जनाको व्यवस्थापन गरेको छ । यसैगरी वडा अध्यक्ष बानियाँले भने आफ्नै खर्चमा एक जना कर्मचारी नियुक्ति गरेका हुन् । ‘रातिको समयमा पानीको व्यवस्थापन गर्न नसक्ने भएपछि आफ्नै निजी खर्चमा एक जना कर्मचारी नियुक्त गरी पानीको आपूर्ति सहज बनाइएको छ’, वडा अध्यक्ष बानियाँले भने ।
अब हरेक दिन राति ९ बजेदेखि १२ बजेसम्म गाम्चामा रहेको ट्याङ्कीमा पानी जम्मा गरिनेछ भने बाँकी समय जाखा, कीर्तिपुर, नगाउँ, पाँगा, भाजंगललगायतका क्षेत्रमा आपूर्तिको व्यवस्था मिलाइएको छ ।

आफ्नो वडामा मात्र नभई समग्र कीर्तिपुर क्षेत्रमा पानी आपूर्ति लागि वडा अध्यक्ष बानियाँ लागिपर्दै आएका छन् । उनले सिमलगायतका क्षेत्रमा नुहाउने र लुगा धुने काम बन्द गरी त्यो पानी संकलन गरेर पाँगा, भाजंगल, नगाउँ, कीर्तिपुरलगायत विभिन्न वडामा पठाउने व्यवस्था पनि मिलाउँदै आएका छन् । यसले लामो समयदेखि काकाकुल बन्दै आएका यस क्षेत्रका स्थानीयले ठूलै राहत पाएका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments