नेपाल भ्रमण वर्ष स्थगित

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित गरिएको छ ।
नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत वैशाख १ गतेदेखि विघटन हुने छ । सचिवालयको नेतृत्व व्यवसायी सुरज वैद्यले गरिरहेका छन् ।
सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । सन् २०१९ को डिसेम्बरबाट देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित भएपछि सरकारले स्थगित गरेको हो ।
कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण थामिनुको साटो विश्वभर जटिल अवस्था सिर्जना भएपछि सरकारले भ्रमण वर्ष स्थगित गरेको हो ।
सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । जनवरी १ मा दशरथ रंगशालाबाट धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको थियो । यस वर्ष मुलुकले तेस्रो नेपाल भ्रमण वर्ष मनाइरहेको थियो । यसअघि सन् १९९८ र सन् २०११ मा भ्रमण वर्ष मनाइएको थियो ।
भ्रमण वर्ष स्थगित भएसँगै सरकारले एक दशकसम्म अर्को भ्रमण वर्ष घोषणा नगर्ने जनाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तर, अब कुनै वर्ष विशेषलाई भ्रमण वर्ष घोषणा नगरिने बताइसकेका छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments