कीर्तिपुर : कीर्तिपुर नगरपालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई ध्यानमा राखी विभिन्न वडामा करीब पाँच सय क्षमताको क्यारेन्टाइनस्थल निर्माण गरेको छ । नगरपालिकाका १० वटा वडामा क्यारेन्टाइन बनाइएको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सरस्वती रिमालले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिका क्षेत्रमा रहेको त्रिविको विज्ञान कक्षमा ५० जना क्षमताको आइसोलेशन कक्षसमेत निर्माण गरिएको छ । कोभिड –१९ बारेको सचेतनाका लागि टोलटोलमा साबुन पानी र स्यानिटाइजर तथा नगरभित्र रहेका स्वास्थ्यकर्मीका लागि ३० थान पिपिई आफँैले निर्माण गरेर वितरण गरिसकिएको जानकारी दिनुभयो । ‘हामीले नगर क्षेत्रका बासिन्दालाई घरभित्रै बस्न आग्रह गर्दै जनचेतनामूलक सन्देश माइकिङ तथा पर्चामार्फत दिएका छौँ’, उहाँले भन्नुभयो, ‘हामीले बजार अनुगमनलाई पनि तीव्र बनाएका छौँ । ’
लकडाउनका अवधिमा कसैले कालोबजारी गरेको भेटिएमा कानूनबमोजिम कारवाही गर्ने समेत चेतावनी दिइएको बताउँदै उहाँले हाल नगरपालिकासँग करीब तीन महिनालाई पुग्ने चामल, दाल तथा तेल पर्याप्त मात्रामा मौज्दात रहेको जिकिर गर्नुभयो । बजारमा एभरेष्ट, नेपाल र बाबालगायत खाना पकाउने एलपी ग्यासको अभाव भएको भन्ने उपभोक्ताबाट गुनासो आएको पनि अन्य खाद्य पदार्थको तत्काल समस्या नरहेको स्पष्ट गर्नुभयो ।
नगरपालिकाले विदेश तथा अन्य स्थानबाट आएकाहरुलाई होम क्यारेन्टाइनमै बस्न निर्देशन दिएको छ । लकडाउनका अवधिमा नगरपालिकामा रहेका सात स्वास्थ्यचौकी, तीन शहरी स्वास्थ्य केन्द्र तथा कीर्तिपुर अस्पताल र विष्णुदेवी अस्पताल खुुल्ला राख्न निर्देशन दिइएको पनि प्रवक्ता रिमालले जानकारी दिनुभयो ।