काठमाडौं : थाइल्याण्डका राजा महा बजिरलंकन आफ्नो देशमा कोरोना भाइरसको महामारी फैलिएपछि २० युवती र अरु दर्जनौं दरवारिया कामदारहरुसहित जर्मनी पुगेका छन् ।
एक सय भन्दा ठूलो समूह साथमा लिएर बजिरलंकनले देश छाडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । दक्षिणी जर्मनीको भव्य रिसोर्टमा उनी सेल्फ आइसोलेसनमा केही दिनदेखि बसिरहेका छन् । ग्रान्ड होटेल सोन्नेबबिकमा उनले मोजमस्तीका साथ बसिरहेको सञ्चार माध्यमको दावी छ ।
६७ वर्षीय राजाले गत वर्ष मात्रै विवाह गरेका थिए । जुन उनको चौथो विवाह हो । उनले २०१९ मा आफ्नै अंगरक्षक महिलासँग विवाह गरेका थिए ।
रामा पाँचौंको रुपमा पनि चिनिने थाइ राजा पहिलेदेखि नै बिलासी जीवन विताउँदै आउका थिए । विवादास्पद छविका उनले कयौं विवादास्पद काम पनि गर्दै आएका छन् । जर्मनीका सञ्चार माध्यमका अनुसार राजाले जर्मनीको सिंगो रिसोर्ट नै आफ्ना लागि बुकिङ गरेका छन् ।
थाइल्याण्डमा कोरोना भाइरसको महामारी फैलिँदै गर्दा उनी जर्मनी पुगेको घटनालाई थाइ नागरिकहरुले आलोचना गर्न थालेका छन् । एक सय १९ सदस्यीय टोलीमा उनी सुटुक्क जर्मनी पुगेका थिए ।
थाइल्यान्डमा अहिलेसम्म कोरोनाबाट ९ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म एक हजार दुई ८६ जना संक्रमित भएका छन् । सरकारले उच्च सर्तकता अपनाए पनि त्यहाँ संक्रमित हुनेको संख्या दिनदिनै बढिरहेको छ ।
मलेसियाका राजा र रानी कोरोनाबाट बच्न सेल्फ आइसोलेसनमा बसेपछि थाइ राजाको खबर बाहिरिएको हो । मलेसियाका राजा र रानी भने आफ्नै कार्यालयका कामदार संक्रमित भएपछि उनीहरु सेल्फ आइसोलेसनमा बस्न थालेका हुन् ।
Previous Article
कोरोनाबाट मर्नेको संख्या साढे ३७ हजार नाघ्यो
Next Article