टोकियो : कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), जापान सरकार र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि नयाँ मिति घोषणा गरिएको हो । नयाँ मिति अनुसार विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक एक वर्ष पर सारिएको थियो । विभिन्न राष्ट्रका खेलकुद संघ, टोकियो ओलम्पिक आयोजक समितिका केही पदाधिकारी र आईओसीका केही सदस्यले समेत ओलम्पिक खेलकुद एक वर्ष पर सार्नुपर्ने धारणा सार्वजनिक भएपछि जापानी प्रधानमन्त्री सिन्जो आवेले एक वर्ष सार्न आईओसीसँग अनुरोध गरेका थिए । त्यसपछि आईओसीले एक वर्ष पर सार्ने निर्णय गरेको थियो ।
ओलम्पिक ज्योति ग्रिसबाट टोकियो पुगिसकेकाले प्रतियोगिताको नाम भने ‘टोकियो ओलम्पिक गेम्स २०२०’ नै रहने भएको छ । आईओसीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट राखेको बैठकमा ओलम्पिक टर्च टोकियो पुगिसकेकोले नाम नफेर्ने सहमति भएको जनाइएको छ ।