काठमाडौं : भारत र चीनसँगको सीमा नाकामा यात्रु आवतजावत गर्न रोक लगाएको सरकारले अलपत्र परेका नेपालीलाई गन्तब्यमा जान दिने भएको छ ।
विशेषगरी भारतसँगको विभिन्न सीमामा अलपत्र परेका व्यक्तिले नेपाली नागरिक भएको पुष्टि हुने कागजपत्र पेश गर्नुपर्नेछ ।
सरकारले आइतबार विहान १० बजेदेखि चीन र भारत दुवैतर्फ यात्रु आवगमन रोक्ने निर्णय गरेको थियो । तर भारतबाट नेपालीहरु आउने क्रम नरोकिएपछि उनीहरुलाई गन्तब्यसम्म जान दिन लागेको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलकाअनुसार अलपत्र परेका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपालतर्फ आउने दिन निर्देशन दिइएको छ । साथै उनीहरुको सबै विवरण लिने र १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने सर्तमा मात्रै नेपाल भित्रिन अनुमति दिइएको छ ।
क्वारेन्टाइनमा बसेका बेला उनीहरू सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको निगरानीमा रहने जनाइएको छ ।
विभिन्न सीमामा हजारौं नेपाली भोक प्यास नभनि बसिरहेका छन् । सीमामा रहेका नेपालीले नेपालमा प्रवेश पाए पनि गन्तब्यमा पुग्न भने सास्ती खेप्नुपर्ने भएको छ । सरकारले सोमबारदेखि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
Previous Article
कोरोना भाइरसको संक्रमणपछि के हुन्छ शरीरमा र के गर्नुपर्छ
Next Article