काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशन आउन एक वर्ष बाँकी छ । महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच टकराव सुरु भएको छ । पार्टीमा कब्जा जमाउन देउवा र पौडेल पक्ष खुलेरै एकअर्काको विरोधमा उत्रिएका बेला पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले पनि १४औं महाधिवेशनकेन्द्रित गतिविधि सुरु गरेको छ । सिटौला समूह पछिल्लो समय छिन्नभिन्न भएको चर्चा चलिरहेका बेला सोमबार विशेष भेला गरेर आफ्नो उपस्थिति देखाउको छ ।
नेता सिटौलानिकट केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेल वरिष्ठ नेता पौडेल समूहमा र शिव हुमागाईं तथा उमाकान्त चौधरी संस्थापन समूहमा गएको प्रचार गरिँदै आएको थियो । आफूहरू एकै ठाउँमा रहेको सन्देश दिन उक्त समूहले भेला आयोजना गरेको हो ।
सिटौलाले आफ्नो समूहका नेता÷कार्यकर्तालाई जिल्ला जान निर्देशन दिए । उनले महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण महत्वपूर्ण हुने भएकाले जिल्लामा चनाखो भएर काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिए ।
उनले पार्टीभित्र बहुमतका नाममा एकपक्षीय निर्णय गर्ने र बैठक बहिष्कार गर्ने दुवै प्रवृत्ति खराब भएको बताउँदै तोकिएको समयमा महाधिवेशनको सुनिश्चितता हुने गरी सबै जिम्मेवार बन्नुपर्ने धारणा राखेका थिए । उनले विभाग गठनदेखि केन्द्रीय सदस्य मनोनयनप्रति आपत्तिसमेत जनाए ।
केन्द्रीय सदस्य थापाले आफू सिटौला नेतृत्वको समूहमै रहेको स्पष्टीकरण दिए । उनले आगामी दिनमा पनि सिटौलाकै नेतृत्वमा परिवर्तनका पक्षमा काम गर्ने बताए ।
उनले पार्टीको विवाद मिलाउन नेता सिटौलाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको चर्चा गरे । पार्टीभित्र सबैलाई मिलाएर लैजाने दायित्व सभापतिको भएकाले उनी लचक हुनुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य पौडेलले पनि आफ्नो समूहबारे सार्वजनिक टिप्पणीलाई स्पष्ट पार्न भेला आयोजना गरिएको बताए । उनले पद प्राप्तिका लागि नभई पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन एक ठाउँमा उभिएको दाबी गरे ।
विभागको जिम्मेवारी पाएका केन्द्रीय सदस्य हुमागाईंले पनि आफू सिटौला समूहसँग रहेको स्पष्ट पारेका थिए । उनले विभागको जिम्मेवारी पाए पनि समूह भने नछाडेको बताए। नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले कोरोना भाइरसका कारण ठूलो भेला नगरिएको बताए । तेस्रो धार एक ठाउँमा रहेको सन्देश दिन मात्र कार्यक्रम गरिएको उनको भनाइ थियो। तेस्रो धारनिकट केन्द्रीय सदस्य, भ्रातृसंस्थाका पदाधिकारी, पूर्व्जिल्ला सभापतिसहित अगुवा नेता÷कार्यकर्ता भेलामा सहभागी थिए ।
Previous Article
राप्रपामा मनोनयन
Next Article