कोरोनाको कहर शान्ति मिसनमा पनि

काठमाडौं : कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ । राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ । नेपाली सेनाले उनीहरूलाई यसै महिना सुडान पठाउने तयारी गरेको थियो ।
राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो । सैनिक मुख्यालय स्रोतका अनुसार कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको हो । स्रोतका अनुसार उनीहरु अर्को निर्णय आउनेबित्तिकै मिसनमा जानेछन् ।
राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि पनि केही समय लम्बिने भएको छ । नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि मात्रै त्यहाँ रहेका सैनिक अधिकारी नेपाल फर्किने छन् ।
राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ ।
पछिल्लो तथ्यांकअनुसार राष्ट्रसंघका विभिन्न मिसनमा पाँच हजार ९६ जना सैनिक अधिकारी तैनाथ छन् । राष्ट्रसंघको आग्रहमा नेपाल प्रहरीका २ सय ३९ र सशस्त्र प्रहरीका ३ सय ६४ जना विभिन्न शान्ति मिसनका काम गर्दै आएका छन् । नेपाली सेनाले सन् १९५८ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत पहिलोपटक लेबनानमा पाँचजना सैनिक पर्यवेक्षक पठाएको थियो ।
सन् १९७४ मा शान्ति सेना स्थापनार्थ इजिप्टमा पहिलो नेपाली कन्टिजेन्टका रूपमा पुरानो गोरख गण खटिएको थियो । सन् १९५८ देखि हालसम्ममा १ लाख २९ हजार ८ सय ९९ सैनिक अधिकारी राष्ट्रसंघको आह्वानमा विभिन्न शान्ति मिसनमा खटिइसकेका छन्। तीमध्ये एक हजार चार सय १ महिला छन् ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments