काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ७८ हजार १०० रूपैयाँ पुगेको छ। आज प्रतितोला ५०० रूपैयाँले बढेर ७८ हजारभन्दा माथि पुगेको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। त्यसैको प्रभावमा नेपालमा पनि सुनले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो छापावाला ७७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
हिजो पनि नयाँ रकेर्ड कायम गरेको सुनले आज ५०० बढेर अर्को रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ७७ हजार ८०० रूपैयाँ कायम छ भने चाँदीको प्रतितोला मूल्य ९१५ रूपैयाँ कायम छ।
पछिल्लो समय सुनलाई समृद्धि र सम्पन्नताको प्रतीक मान्ने प्रबृत्ति बढ्दै गएकाले पनि पहेँलो धातु महँगिँदाको मार ग्राहकमा बझ बढी पर्न थालेको सुनचाँदी व्यवसायी बताउँछन्।व्यवसायीले भने सुनको भाउ उकालो लागेपछि व्यापार ठप्पप्रायः भएको बताए। सुन अझै महँगिने सम्भावना रहेको अन्तर्राष्ट्रिय विश्लेषकले अनुमान गरेका छन्।
पछिल्लो समय सूचना प्रविधिसम्बन्धी संसारकै सबैभन्दा ठूलो कम्पनी एपल इन्कले आगामी दिनमा आफ्नो नाफा घट्नसक्ने जोखिम औंल्याएपछि सुनको भाउ झनै चर्किएको छ। चीनमा फैलिएको कोरोना भाइरसले विश्वव्यापी उत्पादन र उपभोग दुवै खुम्चिएको छ। विकसित अर्थतन्त्रका कैयौं कारखाना बन्द भएका छन्।
पृथ्वीभर नै औद्योगिक कच्चा पदार्थको सबैभन्दा ठूलो आपूर्तिकर्ता चीनमा संकट परेपछि सबैजसो ठूला कम्पनीको नाफा घट्ने प्रक्षपण भएको छ। यसले सुरक्षित लगानीको साधन मानिने सुनमा धनिमानीले लगानी बढाउन थालेका छन्।
महँगी बढेसँगै मानिसले टिकाउयुक्त समानको खरिद बढाएका कारण घर परिवारको बचत पनि घट्न थालेको बताइएको छ। यस्ता खराब तथ्यांकले सुनमात्र होइन, अमेरिकी डलरको भाउ पनि महँगिन सहयोग पुग्छ। यसको दोहोरो असर सुनको मूल्यमा पर्ने गरेको छ। सुन महँगिँदा नेपाली सुनचाँदी व्यवसायीले विदेश निर्यात गर्ने गरगहनाबाट नाफा पाउन सक्छन्। तर अहिले गरगहनाभन्दा पनि लगानीका लागि सुनको माग बढेकाले यस्तो लाभ कमैमात्र भएको व्यवसायीले बताए।