काठमाडौं : सरकारले चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्वार गरेको छ । पछिल्लो समय संसारभर आतंक फैलाएको कोरोना भाइरसको उद्गमस्थल हुपैको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली नेपाल आइपुगेका छन् । नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट उनीहरुलाई आइतबार बिहान काठमाडौं ल्याइएको हो ।
यसअघि १८५ नेपालीले स्वदेश फर्कन बेइजिङस्थित नेपाली दूतावासमा आवेदन दिएका थिए । तीमध्ये शरीरमा तापक्रम उच्च देखिएपछि ६ जनालाई उतै राखिएको छ । उनीहरूको रगत परीक्षणको रिपोर्ट आएपछि उपचार प्रक्रिया अघि बढाइने भएको छ । आवेदन दिएका चारजना भने नेपाल नफर्कने भन्दै उतै बसेका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुपै प्रान्तको वुहानसहित चिङचौ, चिङमन, अनसी, सयान र यिछाङ सहरका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीसहित १८५ जनाले फर्कन आवेदन दिएका थिए ।
नेपालीको उद्धारका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सको चार्टर्ड विमान शनिबार साँझ आठ बजे वुहान विमानस्थलमा अवतरण गरेको थियो । नेपाली सेनाको चिकित्सक टोली पनि चीन गएको थियो ।
चीनबाट फर्किएका नेपालीलाई भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन स्थल तयार पारिएको छ । त्यहाँ उनीहरूलाई दुई साता राखिनेछ । त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षण गरेर उनीहरूलाई सीधै खरिपाटी लगिएको छ ।
यसअघि कतिपय नेपाली १२ घण्टा बसयात्रापछि वुहान सहरमा भेला भएका थिए । विद्यार्थीलाई ६ वटा बसमा विमानस्थल पु¥याइएको थियो । ढिलो भए पनि सरकारले आफ्नो कुरा सुनिदिएको भन्दै नेपालीहरू खुसीसाथ स्वदेश फर्किएका छन् ।
चीनमा रहेका नेपालीलाई लिन त्यहाँ पुगेका विमानका ककपिट ‘क्रु’ लाई पनि एक साता आइसोलेसनमा राखिनेछ । क्याबिन ’क्रु’ लाई भने दुई साता नै क्वारेन्टाइनमा राखिनेछ । वुहान पुगेको विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, अन्य प्राविधिक तीन जना छन् । त्यसमा नेपाली सेनाका चार जना चिकित्सक पनि छन् । उनीहरू सबै क्वारेन्ट ाइनमा बस्नुपर्नेछ ।
कोरोना भाइरसका कारण चीनमा शुक्रबार मात्रै १४१ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार भाइरसको उद्गमस्थल हुपैमा शुक्रबार ११६ जनाले ज्यान गुमाएका थिए । जापान, फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भइसकेको छ । यस्तै शनिबार युरोपमा भाइरस संक्रमणमा पहिलोपल्ट एक जनाको मृत्यु भएको छ । जनवरीमा हुपैबाट फर्किएका ८० वर्षीय व्यक्तिको फ्रान्समा मृत्यु भएको थियो ।