काठमाडौं : वैदेसिक रोजगारका क्रममा कुवेतमा रहेका ६ जना नेपालीको मृत्यु भएको छ ।
कुवेतको एक निर्माण क्षेत्रमा बालुवा र ग्राभेलको ढिस्कोमा पुरिएर चार जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
कुवेतस्थित नेपाली नियोगका द्धितीय सचिव जानकी ओझाका अनुसार मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा ब्लक ५ ढल निर्माण गर्ने क्रममा बालुवा र ग्रामेलको ढिस्को खसेको थियो ।
ओझाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको विस्तृत विवरण आउन सकेको छैन । छिट्टै प्रतिवेदन दिन माग गरिए पनि प्रहरीले नदिएको उनको भनाइ छ । उक्त निर्माणस्थल चिनियाँ कम्पनी सिजिजिसीले निर्माणको जिम्मा लिएको छ ।