काठमाडौं : जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । लिगको आफ्नो अन्तिम खेलमा पुलिसलाई जिताउन भेट्रान्स स्ट्राइकर जुमानु नायक बने । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको पुलिसलाई जुमानुले नै दोस्रो हाफमा उद्घार गरेका थिए ।
जुमानु ४९औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए । उनले मैदान प्रवेश गर्नासाथ खाता खोलेका थिए । दोस्रो हाफमा सशक्त प्रदर्शन गरेको पुलिसले ५६औं र ८५औं मिनेटमा दुई गोल थपेको थियो । जुमानुले लगातार गोल गर्दै ह्याट्रिक पूरा गरे । मध्यभागमा औसत प्रदर्शन गरेको फ्रेन्डसको अग्रपंक्ति बिर्सनलायक बन्यो । जुमानु म्यान अफ दी म्याच भए । जितसँगै पुलिस तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । लिगका सुरुआती खेलमा कमजोर देखिएको पुलिसले विस्तारै शीर्ष ६ भित्र रहेर लिग सकेको छ । पुलिसले १३ खेलबाट २० अंक बनाएको छ । १४ अंक बनाएको फ्रेन्ड्स १०औं स्थानमा छ ।
यसैगरी अर्को खेलमा एपीएफ र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेले । खेलको अन्तिम समयमा सम्हालिन नसक्दा एपीएफले अंक बाँडेको थियो । एपीएफका लागि आशिष लामाले सुरुआती गोल गरे । आशिषले ४४औं मिनेटमा नवीन लामाको पासमा हेडमार्फत गोल गरेका थिए । आशिष लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । उनले व्यक्तिगत नौ गोल गरेका छन् ।
ब्रिगेडले दोस्रो हाफको इन्जुरी समयमा एपीएफको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै बराबरी गोल फर्कायो । ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा सकेका थिए ।
१३ खेबाट नौं अंक बनाएको एपीएफ १२औं स्थानमा रह्यो । समान नौ अंक बनाएको ब्रिगेड गोलअन्तरका आधारमा १३औं स्थानमा रह्यो ।
यसैगरी साबिक उपविजेता संकटाले अन्तिम खेलमा रेलिगेसनमा रहेको सरस्वतीविरुद्ध गोल वर्षा गरेको छ । संकटाले सरस्वतीलाई ६–२ गोलले हरायो । एकपक्षीय खेलमा संकटालाई जिताउन मेसोउको ओलोउमोउले दुई गोल गरे । मेसोउकोले पाँचौं र ३३औं मिनेटमा गोल गरेका थिए । सुवास गुरुङले ३७औं, टीकाराज गुरुङले ५६औं र रोशन पहाडीले ८३औं मिनेटमा गोल गरेका थिए ।
अर्को गोल ६५औं मिनेटमा सरस्वतीको तर्फबाट आत्मघाती गोल भएको थियो । बल बचाउने क्रममा पूर्णबहादुर श्रेष्ठको प्रहार आफ्नै पोस्ट्मा परेको थियो । लगत्तै ६६औं मिनेटमा सरस्वतीका काजिम बुसारीले गोल फर्काए । दुई गोल गरेका बुरासीले ७९औं मिनेटमा दोस्रो गोल गरेका थिए । संकटाका सुवास गुरुङ म्यान अफ दी म्याच भए । जितसँगै संकटा सातौं स्थानमा उक्लिएको छ । संकटाले १३ खेलबाट १८ अंक बनाएको छ । यसअघि नै रेलिगेसनमा परेको सरस्वतीले चार अंक बनाएको छ । सरस्वतीले लिगमा एक जित र एक बराबरीको नतिजा निकालेको थियो ।