आर्मी फेरि शीर्ष स्थानमा

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोलले हरायो ।

कप्तान भरत खवासले लिग फुटबल करियरको ५०औं गोल पूरा गरेको खेलमा आर्मीका लागि भरतसँगै विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । भरतले पाँचौं मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा हेडमार्फत खाता खोलेका थिए । एन्फा एकेडेमीका तेस्रो ब्याजका खेलाडी भरतले पुलिस क्लब हुँदै आर्मीमा अनुबन्ध भएका थिए ।

आर्मीका लागि दोस्रो गोल विकास तामाङले ५४औं मिनेटमा गरेका थिए । उनले सन्तोष तामाङको पासमा डेड गोल गरेका थिए । ७०औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सजिलै जिताए । टेकबहादुर म्यान अफ दी म्याच भए । जितसँगै उपाधिको संघारमा उभिएको आर्मीले १२ खेलबाट २९ अंक बनाएको छ । आर्मीसँग हार खेपेको ब्रिगेड आठ अंकसहित १२औं स्थानमा छ । आर्मी दोस्रो स्थानमा रहेको मच्छिन्द्रभन्दा एक अंकले माथि छ । मच्छिन्द्रको २८ अंक छ । आर्मी र मच्छिन्द्रबीच अब लिगको अन्तिम खेल हुनेछ । सोही खेलले उपाधिको टुंगो लगाउनेछ ।

यसैगरी अर्को खेलमा साबिक विजेता मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो । मनाङको जितमा विमल राना र अञ्जन विष्टले गोल गरे । विमलले ३२औं मिनेटमा पुलिसका रक्षक अञ्जन राईको गल्तीमा गोल गरेका थिए ।

त्यसपछि अञ्जन विष्टले निशान लिम्बूको पासमा उत्कृष्ट हेड गोल गरेका थिए । मनाङले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो । पुलिसको गोल फर्काउने प्रयास मनाङका गोलरक्षक बाधक बनेका थिए । ९०औं मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । पुलिसका विशाल बस्नेत रातो कार्ड पाउँदै बाहिरिएका थिए । मनाङका गोलरक्षक दीप कार्की म्यान अफ दी म्याच भए । जितसँगै २५ अंक बनाएको मनाङ तेस्रो स्थानमा यथावत् छ । मनाङ उपाधि होडबाट बाहिरिसकेको छ । १७ अंक बनाएको पुलिस छैटौं स्थानमा छ ।

अर्को खेलमा थ्रीस्टार क्लबले एनआरटी क्लबमाथि कठिन जित निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले एनआरटीलाई १–० गोलले हरायो । थ्रीस्टारको जितमा दीपेश घले नायक बने । दीपेशले ७७औं मिनेटमा गरेको गोल नै थ्रीस्टारका लागि निर्णायक बन्यो । एनआरटीले राम्रो अवसर बनाए पनि गोल गर्न सकेन । थ्रीस्टारका रक्षक ग्विलाउमे प्रिसो म्यान अफ दी म्याच भए । जितसँगै १२ खेलबाट २३ अंक बनाएको थ्रीस्टार चौथो स्थानमा यथावत् छ । यसअघि १५ अंक बनाएको एनआरटी आठौं स्थानमा छ ।

0 0 vote
Article Rating

LEAVE A COMMENT

guest
0 Comments
Inline Feedbacks
View all comments